१५ केजी गाँजासहित एक पुरुष पक्राउ – Kanika Khabar
Thursday, February 13Nepali News Portal

१५ केजी गाँजासहित एक पुरुष पक्राउ

    मा प्रकाशित

भदौ ६, खोटाङ ।
जिल्ला प्रहरी कार्यालय खोटाङले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीबजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राई रहेको प्रहरीले जनाएको छ । अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत उनलाई आफ्नै घरबाट गएराति १५ किलोग्राम गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

राईले प्रतिबन्धित लागुऔषध गाँजा घरमा लुकाइ राखेको भन्ने प्राप्त सूचनाका आधारमा खटिएको टोलीले उनको घर खानतलासी गर्दा सो परिमाणको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए । पक्राउ परेको राईविरुद्ध आज लागूऔषधसम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धानका लागि हिरासतमा राखिएको उनले जानकारी दिए ।

उनका अनुसार राई लामो समयदेखि हलेसी क्षेत्रमा अवैध रुपमा गाँजाको कारोवार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसअघि गत चैत ४ गते हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीस्थित राटमाटेका केवी भनिने कुलबहादुर राईको घरबाट प्रहरीले २० केजी गाँजा बरामद गरेको थियो । प्रहरीका अनुसार गाँजा कारोबारमा संलग्न रहेका राई हाल फरार रहेका छन् ।

यसैबीच, भरुवा बन्दुकसहित शनिबार एक युवकलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपलिका–७ हलेसीस्थित ऐँसेलुखर्कका ३७ वर्षीय खगेन्द्र राई रहेका छन् ।

राईले घरमा भरुवा बन्दुक लुकाइ राखेको प्राप्त सूचनाका आधारमा उनलाई पक्राउ गरेको र उनीविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा स्थानीय प्रशासनले अवैध हातहतियारमुक्त अभियानसमेत शुरु गरेको छ । सो अभियानअन्तर्गत गत बिहीबार ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीबाट १७ थान भरुवा बन्दुक सङ्कलन गरेको थियो ।रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्