पर्वतारोही र पदयात्रीलाई मौसमको अवस्थाप्रति सतर्क रहन अपिल – Kanika Khabar
Wednesday, September 23Nepali News Portal

पर्वतारोही र पदयात्रीलाई मौसमको अवस्थाप्रति सतर्क रहन अपिल

    मा प्रकाशित

काठमाडौं । पर्यटन विभागले शरद ऋतुमा पर्वतारोहण तथा पदयात्राका लागि अनुमति लिएका पर्वतारोही, पदयात्री र सहयोगी कर्मचारीलाई मौसमको अवस्था हेरेर उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

विभागका अनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको र वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।

मौसम प्रतिकूल भएमा पदयात्रा तथा हिमाल आरोहणका क्षेत्र प्रभावित हुनसक्ने भन्दै विभागले उक्त अवधिमा सकेसम्म यात्रा नगर्न आग्रह गरेको छ । यात्रा गर्नैपर्ने अवस्थामा सावधानी अपनाउन तथा नेपाल सरकार र सम्बन्धित निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर योजना बनाउन अनुरोध गरिएको छ ।

सामागाउँ, खुम्बु, मनाङलगायत पदयात्रा तथा हिमाल आरोहण क्षेत्रका स्वास्थ्य संस्था तथा काठमाडौं र पोखराका उच्च हिमाली स्वास्थ्य समस्याको उपचार गर्ने स्वास्थ्य संस्थामा निरन्तर र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनसमेत विभागले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्