भदौ ६, दाङ ।
सत्तारुढ दल नेपाली काङ्ग्रेसमा उल्जिएको क्रियाशील सदस्यता विवादले आज पनि निकास पाएको छैन । आज कार्यदलले प्रतिवेदन बुझाउने भनिए पनि बुझाउन सकेन ।
आज आइतबार विवाद समाधान भएको र पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने कार्यक्रम तय भएको भए पनि अन्त्यमा रोकिएको हो ।
कांग्रेस स्रोतका अनुसार अझै प्राविधिक विषय बाँकी रहेकाले प्रतिवेदन बुझाउन नसकिएको हो । अझै केही प्राविधिक कुरा मिाउन पर्ने भएकोले अब सोमबार या मंगलबार मात्रै प्रतिवेदन बुझाउने सम्भावना रहेको स्रोतले बताएको छ ।
गत ३० साउनमा बसेको केन्द्रीय कार्यसमिति बैठकले रमेश लेखक संयोजकत्वको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पारित गरेको थियो । प्रतिवेदन पारित भएसँगै प्रतिवेदनमा निर्णय गर्न बाँकी रहेका विषय टुंगो लगाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा। मीनेन्द्र रिजाल र लेखकलाई जिम्मा लगाएको थियो ।
बढी विवाद कहाँ छ ?
हाल क्रियाशील सदस्यताका विषयमा बारा र सप्तरीमा जिल्लाभर विवाद छ । यस्तै धनुषा–४ सर्लाही–२, रसुवा र सिन्धुपाल्चोकका केही स्थानका सदस्यताका विषयमा पनि विवाद कायम छ । यी सबै नयाँ सदस्यतामा देखिएका विवाद हुन् ।
नयाँ सदस्यताका विषयमा विवाद हुँदा कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले यसअघि नै देशभरका १२१ वटा वडाको नयाँ सदस्यता स्थगित गर्न पार्टी पदाधिकारीसहित शीर्ष नेतृत्वलाई सदस्यता सम्वन्धि प्रतिवेदन बुझाएको थियो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सदस्यता विवाद समाधान उन्मुख हुने भन्दा झनै किचलोतर्फ अघि बढिरहेको बताए ।
‘विवाद समाधान गर्ने र महाधिवेशन तर्फ अघि बढ्ने भन्दा झनै विवाद बढाउनेतर्फ अवस्था अघि बढ्यो, यो पार्टीका हितमा छैन,’ वरिष्ठ नेता पौडेलले हाम्राकुरासँग भने । उनी निकट नेता रामकृष्ण यादवले वडाबाट पठाइएका सदस्यतामा एउटा नामावली र केन्द्रबाट पास भएको नामावली केही स्थानमा फरक देखिएको बताए । उनका अनुसार सदस्यता संख्या उही भए पनि नाम भने फरक पाइएको छ ।
‘केही जिल्लाबाट वडाहुँदै सिफारिस भएर आएका नाम एउटा छ, तर केन्द्रमा आइपुगेर नामावली पास हुँदा संख्या उही छ, तर नाम फेरिएको पाइएको छ, सदस्यताको सूची वडामा पुग्दा नाम विल्कुलै फरक देखिने अवस्था छ, यसले महाधिवेशनलाई सहज बनाउने भन्दा हुन नदिने वातावरणतर्फ उन्मुख गराउँदै छ,’नेता यादवले भने ।