५ महिनाभित्र विद्युतीय बस सञ्चालन गर्ने साझा यातायातको तयारी – Kanika Khabar
Friday, April 26Nepali News Portal

५ महिनाभित्र विद्युतीय बस सञ्चालन गर्ने साझा यातायातको तयारी

    मा प्रकाशित

उषा तामाङ
भदौ ७, काठमाडौँ ।

अबको ५ महिनाभित्र विद्युतीय बस सञ्चालन गर्ने साझा यातायात सहकारी संस्थाले जनाएको छ । सरकारले विद्युतीय बस खरिद गर्न शेयर लगानीका रूपमा साझा यातायात सहकारी संस्थालाई २०७६ असोज ३० गते तीन अर्ब उपलब्ध गराएको थियो । उक्त रकम बाट साझा यातायातले अबको ५ महिनामा ३ वटा विद्युतीय बस खरिद गर्ने बताएको हो ।

 

साझा यातायातका सञ्चालक सदस्य भुषण तुलाधारले खरिद प्रक्रिया पूरा गर्न करिव १ महिना लाग्ने भएकाले ५ महिनाभित्रमा बस आउने बताउनुभयो । ३ वटा बसको परीक्षण सफल भएमा अर्को ४ महिनामा ४० वटै बस ल्याएर सञ्चालन गर्ने योजना रहेको तुलाधरले बताउनुभयो । २०७७ माघ २६ गतेको मन्त्रिपरिषद् बैठकले बस खरिद प्रक्रिया खुल्ला गर्ने निर्णय गरेपछि साझा यातायातले ४० वटा बस खरिद गर्न गएको चैत १३ गते बोलपत्र आह्वान गरेको हो । सोही अनुसार ९ वटा चिनिँया कम्पनी विद्युतीय बस खरिदका लागि इच्छुक देखिएका छन् ।

 

सरकारले विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राख्ने निर्णय गरिसकेको छ । सोही अनुसार २०७५ पुसमा नै कम्तिमा ३ सय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीतिगत निर्णय गरेको थियो । विद्युतीय बस वातावरणमैत्री र अपाङ्गमैत्री हुने भएकाले पनि यसको प्रयोगमा जोड दिनुपर्ने सर्वसाधारण नागरिकको भनाइ छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ कात्तिक ६ गते विद्युतीय बसको उद्घाटन गर्दै अब विद्यीतीय सवारीसाधनलाई प्राथमितामा राख्ने बताउनुभएको थियो ।

 

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा विद्युतीय सवारीको प्रयोगलाई देशव्यापी बनाउने र ०७७/७८ को बजेटमा विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना गर्ने घोषणा गरेको थियो । चालु आर्थिक वर्षको बजेटमा समेत पेट्रोलियम पदार्थबाट सञ्चालित सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गर्न प्रोत्साहन गर्ने र २०८८ सालसम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले विस्थापित गर्ने उल्लेख छ । विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउँदा इन्धन खर्च २५ प्रतिशत घट्ने छ भने मर्मत खर्च कम लाग्नुका साथै वातावरण मैत्री पनि हुने विज्ञहरूको भनाइ छ । सीआईएन

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्