कनिका संवाददाता
जेठ २६, दाङ ।
गएराति दाङको देखुरी क्षेत्रमा चार वटा स्काभेटरमा आगजनी गरिएको छ । बज्रगुरु कन्ट्रक्सन कम्पनी प्राली ललितपुरका चार वटा स्काभेटरमा राति साढे बाह्र बजेतिर अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय गढवाका इन्सपेक्टर भरतसिं राठोरले बताएका छन् । राठोरले भने, ‘घटना अन्दाजी साढे बाह्र बजेतिरको हो, गढवा गाउँपालिका वडा नं. १ जेठान गाउँमा रातको समयमा पार्किङ गरिएका चारवटा स्काभेटरमा आगजनी गरिएको हो । हामीले आगजनीमा संलग्न व्यक्तिहरुको खोजीलाई तीब्र पारेका छौँ ।’’
कालाकाँटे– गढवा जोड्ने हुलाकी मार्ग निर्माण कार्यमा प्रयोग गरिएका स्काभेटरमा आगजानी भएको प्रालिका प्रतिनिधि श्रीधर बिसीले जानकारी दिएका छन् । बज्रगुरु कन्ट्रक्सन कम्पनी प्रालिले कान्छाराम कन्ट्रक्सन प्रालिका माध्यमबाट काम गरिरहेको पनि प्रतिनिधि बिसीले बताए । रातको समयमा पार्किङ गरिराखेका बा २ ख ३१४८, बा २ ख २२७१, बा २ ख ४४८२ र एउटा अन्टेस्ट स्काभेटरमा आगजनी गरिएको थियो ।
मा प्रकाशित