बढाइँदै आइसियु -भेन्टिलेटर – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बढाइँदै आइसियु -भेन्टिलेटर

    मा प्रकाशित

अमरराज आचार्य
दाङ, १० भदौ ।

कोभिड–१९ को तेस्रो चरणले पु¥याउने असर कम गर्न तयारीका बारेमा छलफल गरिएको छ । त्रिभुवन नगर जेसीजको आयोजनामा छलफल गरिएको हो । छलफल कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले कोभिडको तेस्रो चरणबाट पर्नसक्ने असरका बारेमा तयारी भइरहेको बताए । कोभिडको तेस्रो चरणसँग जुध्नका लागि तयारी भइरहेको उनको भनाइ रहेको छ । अक्सिजन उत्पादन बृद्धि भएको, उपचारका लागि आवश्यक पर्ने बेड, आइसियु, भेन्टिलेटर लगायतको व्यवस्था भइरहेको उनले बताए ।

त्यसैगरेर विज्ञहरुले तेस्रो चरणले बालबालिकाहरुलाई प्रभाव पार्ने भनिएकाले उनीहरुको उपचारका लागि छुट्टै बेडको व्यवस्थापन तथा बालरोग विशेषज्ञहरुसहितको समितिसमेत गठन गरिएको उनले बताए । दोस्रो चरणजस्तो अक्सिजनको अभाव नहुने उनले बताए । जिल्लालाई उत्पादन भएको अक्सिजन दाङलाई मात्र नभई पहाडी जिल्लामा समेत पठाउन सकिने उनको भनाइ छ । ‘अहिले नै डराउनुपर्ने अवस्था छैन, तेस्रो कोभिडसँग जुध्नका लागि हामी तयारीमा रहेका छौँ’, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने । कोभिडविरुद्धको खोप पनि निरन्तर दिइरहेको भन्दै यसले पनि सहयोग पुग्ने उनी बताउँछन् । नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न समेत आग्रह गरे । स्वास्थ्य मापदण्ड अपनाएमा संक्रमण फैलन नपाउने उनको भनाइ छ ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद्बहादुर शाहीले कोभिडको तेस्रो चरणका लागि योजना बनाएर अगाडि बढेको बताए । त्यसका लागि तयारी समिति निर्माण गरिसकेको बताए । ‘तेस्रो चरण आउँछ/आउँदैन भन्ने भन्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्न ध्यान दिन जरुरी छ’, प्रमुख शाहीले भने । नागरिकले स्वास्थ्य मापदण्ड पालना गर्न छाडेको उनले बताए । ‘जान्ने–बुझ्नेहरुले नै स्वास्थ्य मापदण्ड पालना गर्नु हुँदैन’, शाहीले भने । सानो गल्तीले धेरै समस्या पार्ने भन्दै यसतर्फ सचेत हुनुपर्ने उनले बताए । हालसम्म जिल्लामा ३४ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको उनले जानकारी दिए । जिल्लामा अब करिब २ लाख ५० हजार जति नागरिक खोप लगाउन बाँकी रहेको उनको भनाइ रहेको छ ।

प्रादेशिक कोभिड अस्पताल बेलझुण्डी अस्पताल व्यवस्थापक द्रोण वलीले तेस्रो चरणलाई मध्यनजर गरेर आइसियु, एचडियु, एनआइसीयु बढाउन थालिएको बताए । यसले गम्भीर बिरामीहरुको उपचारमा सहयोग पुग्ने उनको भनाइ रहेको छ । संरचना थप गरिए पछि जनशक्तिको समस्या हुने बताए । यसको व्यवस्थापन गर्न आवश्यक रहेको छ । भेन्टिलेटर, एनआसीयु सञ्चालनका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिनुपर्ने उनको भनाइ छ ।

अस्पतालमा संरचना निर्माणमा सहयोग गर्न समेत आग्रह गरे । अहिले अस्पताल ऋणमा रहेको उनले बताए । सामग्री लिएको स्थानमा रकम भुक्तानी गर्न बाँकी रहेको छ । रणसिंह दल गणका प्रमुख रविन्द्र महर्जनले कोभिडबाट मृत्यु भएकाको शव व्यवस्थापनमा आफूहरुको सहयोग रहँदै आएको र आउँदा दिनमा पनि सहयोग निरन्तर हुने बताए । यसका लागि आवश्यक मात्रामा जनशक्ति व्यवस्थापन गरिने उनको भनाइ रहेको छ ।

घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, तुलसीपुर उपमहानगरपालिका कोभिड फोकल पर्सन विमल केसी, लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालमणि सुवेदीले नगरपालिकाहरुले कोभिडका समयमा गरेका कार्यहरु तथा आउँदा दिनका योजनाका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले सबै सामाजिक संघसंस्थाहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । सामाजिक कार्य गर्न संस्थाहरु एकताबद्ध भएर अगाडि बढेमा काम गर्नसमेत सहज हुने उनीहरुको भनाइ रहेको थियो ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, दाङ चेम्वर अफ कमर्शका उपाध्यक्ष बलदेव योगी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख हृदयेश सापकोटालगायतले भनाइ राखेका थिए । कार्यक्रम त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रम संयोजक किरण गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव टंक रावतले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्