बालेन सरकारको स्वेच्छाचारी गतिबिधिविरुद्ध संघर्ष गर्छौं- महेश बस्नेत – Kanika Khabar
Monday, May 25Nepali News Portal

बालेन सरकारको स्वेच्छाचारी गतिबिधिविरुद्ध संघर्ष गर्छौं- महेश बस्नेत

    मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान बालेन नेतृत्वको सरकारका गतिविधि जनविरोधी, स्वेच्छाचारी र गैरजिम्मेवार भएको आरोप लगाउँदै त्यसविरुद्ध जनतालाई सचेत बनाउने र अन्य दल तथा लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर संघर्ष अघि बढाउने निर्णय भएको बताएका छन्।

उनका अनुसार सरकार गठन भएदेखि नै प्रतिशोधपूर्ण र एकतर्फी शैलीमा काम भइरहेको दाबी गरिएको छ। उनले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पूर्वाग्रही र गैरन्यायिक रूपमा पक्राउसमेत गरिएको आरोप लगाए ।

बस्नेतले सरकारले संसदको बैठक आफैंले आह्वान गरेपछि स्थगित गरी धेरै अध्यादेश जारी गरेको, त्यसमार्फत विद्यार्थी संगठन र पेशागत संघ–संस्थामाथि प्रतिबन्ध लगाइएको जस्ता कदम गलत भएको टिप्पणी गरे ।

त्यसैगरी सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई डोजर चलाएर बलपूर्वक हटाइएको, भन्सार नाकामा कडाइ बढाएर मधेसका जनतालाई समस्या दिइएको, र न्यायालयमा वरिष्ठता तथा परम्परागत मापदण्ड मिचेर नियुक्ति गरिएको आरोप पनि उनले लगाए । उनले विश्वविद्यालयलगायत निकायमा राजनीतिक हस्तक्षेप भएको, दलित र महिलामाथि हुने हिंसा बढ्दा पनि सरकार मौन रहेको र महँगी बढ्दा पनि जनताको समस्या प्रति बेवास्ता गरिएको बताए ।

त्यस्तै निजी क्षेत्रलाई निरुत्साहित गर्ने नीति ल्याइएको र प्रमाण तथा छानबिन बिना व्यवसायीलाई पक्राउ गरेर दुःख दिने काम भएको उनको भनाइ छ। बस्नेतले यस्ता गतिविधिहरूले लोकतान्त्रिक मूल्य, जनअधिकार र राष्ट्रिय हितमाथि असर पारिरहेको भन्दै त्यसविरुद्ध सशक्त जनआन्दोलन आवश्यक रहेको बताए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्