कनिका संवाददाता
जेठ २८, दाङ ।
कोरोना भाइरसका कारण हुन सक्ने मानसिक तथा मनोसामाजिक समस्यासँग सामना गर्न मनोविमर्श सेवाका लागि दाङमा टोल फ्रि नम्बर सुरु गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो ।
कोरोना भाइरसका कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा हुन सक्ने मानसिक तथा मनोसामाजिक समस्याका विरुद्धमा मनोविमर्श गर्नका लागि केन्द्रले १६६०८२१८००० नम्बरको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो ।
कोरोना भाइरस र लामो समयदेखिको लकडाउनको कारण व्यक्तिहरुमा पर्न सक्ने मानसिक असरहरुको फोनबाटै मनोविमर्श गर्नका लागि संस्थाले टोल फ्रि नम्बर सुरु गरेको संस्थाका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिइन् ।
कुनै पनि व्यक्तिले आफू लगायत परिवारका कुनै पनि सदस्यहरुमा मानसिक एवं मनोवैज्ञानिक असर देखा परेमा केन्द्रको टोल फ्रि नम्बरमा नमस्तेको सिमबाट सम्पर्क गरेर निशुल्क मनोविमर्श सेवा लिन सक्नेछ ।
शनिवारबाहेक हरेक दिन विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निशुल्क मनोविमर्श सेवा लिन सकिनेछ ।।