बिपीले ठट्टैमा भन्नुभयो, ‘भारतकी रानीको सेवा गर्नुभन्दा त नेपालकै राजाको सेवा गर्नु राम्रो’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बिपीले ठट्टैमा भन्नुभयो, ‘भारतकी रानीको सेवा गर्नुभन्दा त नेपालकै राजाको सेवा गर्नु राम्रो’

    मा प्रकाशित

बिश्वबन्धु थापा
विपी कोइरालासँगको सम्बन्ध निकै सानो उमेरदेखि नै हो । हामी उहाँलाई सानदाजु भनेर सम्बोधन गथ्र्यौं । म बिराटनगरमै बस्ने भएकाले उहाँ विराटनगर आउँदा भेट भईरहन्थ्यो । जव म म्याट्रिक परीक्षा दिनका लागि सन् १९४४ सालमा बनारस गएँ, त्यसवेला मनमोहन अधिकारीसँग सम्बन्ध बढेको थियो । मैले मनमोहनसँग हिमचिम बढेको कुरा विपी कोइरालालाई सुनाएँ । त्यसवेला उहाँले समाजवाद भनेको प्रजातन्त्रले मात्रै सम्भव छ भनेर बुझाउनुभयो । विपीले काङ्ग्रेसको विषयमा नबताउनुभएको भए सायद मनमोहनसँगको संगतले म पनि कम्युनिष्ट हुन्थें होला । म काङ्ग्रेसमा आउनुको श्रेय विपीलाई नै छ । त्यसैवेलामा हामीले छात्र संघको पनि स्थापना गरेका हौं । म स्थापनाको बेलामा सह–सचिव बनेको थिएँ । त्यसवेला हामी सबै काङ्ग्रेस भइसकेका थिएनाँै । १९४५ मा भारत स्वतन्त्र भइसकेपछि नेपालमा पनि राणाहरुलाई हटाउनुपर्छ भन्दै विपीले नै समाजसेवा छोडेर अब राजनीतितिर लाग्नुपर्छ भनेर नेपाली काङ्ग्रेसको स्थापना गर्नुभएको हो । वि.स. २००३ सालमा राष्ट्रिय काङ्ग्रेसको स्थापना हुँदा हामीले स्थापना गरेको छात्र संघका प्रायः सबै सहभागी भएका थियौं । जस्तो त्यसवेला छात्र संघमा उपसभापति रहनुभएका कृष्णप्रसाद भट्टराई काङ्ग्रेसको संस्थापक नै हुनुभयो । २००४ सालको मजदुर आन्दोलनमा पनि हामीसँगै नै जेल परेका थियौं । म सानै भएकाले जेलबाट छुटें र त्यसपछि अध्ययनका लागि बनारसतिर गएँ । पछि मेरो बिएको परीक्षा सकिने बित्तिकै विपीले मलाई विराटनगर पठाउनुभयो । काङ्ग्रेसले बिद्रोहमा जाने निर्णय गरेकाले विपीकै सल्लाहमा गिरिजा र म दुबै जना विराटनगरमा आएर जुटमिलमा मजदुर भएर काम गर्न थाल्यौं । यसक्रममा विपीसँग निरन्तर सम्बन्ध भई नै रह्यो । हुन त काङ्ग्रेसको तत्कालीन नेता त मातृकाप्रसाद कोइराला हुनुहुनथ्यो, तर बिचारमा विपी अगाडि भएकाले हामी विपीलाई एकदमै मान्थ्यौं । २००७ सालमा भएको आन्दोलनमा विराटनगरको नेतृत्व विपी कोइरालाले गर्नुभएको थियो । विरगञ्जमा शुवर्ण शमशेरले र पश्चिमतिर महेन्द्रविक्रम सिंहलगायतले नेतृत्व गरेका थिए । मातृकाप्रसाद कोइराला भने सुप्रिम कमाण्डर हुनुहुन्थ्यो । जव विरगञ्ज र विराटनगरमा आक्रमण गरियो । विरगञ्जको आक्रमण त सफल हुन सकेन तर विराटनगरलाई भने हामीले कब्जा ग्यौं । विराटनगर आक्रमणको बेलामा लडाइँको मैदानमा पनि विपी कोइरालाले नेतृत्व गर्नुभएको थियो । विपी नै अगाडि लागेर नगएको भए धरै मान्छे मर्ने थिए । यस हिसावले पनि विपी कोइराला हरेक क्षेत्रमा नेतृृत्व गर्न सक्ने खुबी भएको ब्यक्ति हो ।

२००७ सालकै क्रान्तिका बेला राजा त्रिभुवन भाग्ने कुरा हामीलाई थाहा थियो । त्रिभुवनलाई विराटनगर राख्ने कि पाल्पा राख्ने भन्ने कुरा भइरहेको थियो । तर भारतले मानेन त्यसपछि राजा त्रिभुवन भारततिरै गए । यसमा नेहरुको खेल छ । दिल्लीमा राजा र राणाहरुसँग छलफलका लागि काङ्ग्रेसका तत्कालीन सभापति मातृका भए पनि विपी नै जानुभएको थियो । किनभने पार्टीमा सबैले विपीलाई नै विश्वास गर्थे । विपी बिचारमा पनि मातृका भन्दा अगाडि हुनुहुन्थ्यो । त्यसवेला राजा, काङ्ग्रेस र राणाबीच भएको भनिएको दिल्ली सम्झौता काङ्ग्रेस र राणा दुवैको राजासँग छलफल नभई भएको हो । भारतले राणा र काङ्ग्रेस दुबैलाई राजासँग प्रत्यक्ष भेट गर्न दिएको थिएन । दिल्ली सम्झौता राणा र राजासँग भन्दा पनि भारतसँग भएको हो । दिल्ली सम्झौतापछि बनेको मोहन शमशेरको सरकारमा विपी गृृहमन्त्री पनि बन्नुभएको थियो । मोहन शमशेरले राजीनामा दिइसकेपछि भारतकै खेलका कारण मातृृकालाई प्रधानमन्त्री बनाइयो तर विपीलाई हुन दिइएन । मातृकाले पनि विपीलाई यहाँनिर नैतिकताको हिसावले प्रधानमन्त्रीमा सिफारिस गर्नुपथ्र्यो । तर आफ्नै नाम सिफारिस गर्नुभयो र विपीलाई धोका दिनुभयो । किनकि विपी नै नेता हो भनेर मातृकालाई पनि थाहा थियो । मातृका पार्टीको सभापति र विपी प्रधानमन्त्री भएर देश चलाएको भए देश निकै अगाडि पुग्ने थियो । यता मातृकाकै मन्त्रीमण्डलमा पनि विपी सहभागी हुनुभएको भए राम्रो हुन्थ्यो । मातृकाले त विपीलाई मन्त्रीमा सिफारिस पनि गर्नु भएको हो । तर विपी मन्त्रीको रुपमा सरकारमा सहभागी हुन ुभएन । अप्रत्यक्ष रुपमा मातृकालाई विपीले असहयोग गर्नुभयो । त्यसपछि दाजुभाइको बीचमा झगडा शुरु भयो । विपीले मातृकासँग कार्यवहाक सभापति माग्नुभयो तर मातृकाले दिनुभएन । किनकि विपीलाई सभापति दिए प्रधामन्त्रीबाट हटाई दिन्छन भन्ने मातृकाको बुझाइ थियो । हुन पनि त्यस्तै नै भयो, जब विपीलाई मातृकाले कार्यवहाक सभापति बनाउनुभयो तब विपीले मातृकालाई प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य तुल्याउनुभयो । यसरी काङ्ग्रेसमा झगडा शुरु भयो । पार्टी फुटेर राष्ट्रिय काङ्ग्रेस र काङ्ग्रेस गरी दुई पार्टीमा विभाजित भयो ।

त्रिभुवनको निधन पछिमहेन्द्र राजा भए । विपीलाई महेन्द्रले प्रधानमन्त्री दिन्छन भन्ने विश्वास थियो । तर महेन्द्र आफूले भनेको मान्ने व्यक्तिलाई प्रधानमन्त्री बनाउन चाहन्थे । विपीले यो कुरा बुझेपछि २०१२ सालमा काङ्ग्रेसको अधिवेशन गराउने र सुवर्ण शमशेरलाई सभापति बनाउने कुुरा गर्नुभयो । किनकि सभापति भएपछि प्रधानमन्त्रीको उमेद्वार भइन्थ्यो । सुवर्ण शमशेर महेन्द्रका नजिकका भएकाले विपीले यस्तो प्रस्ताव गर्नुभएको थियो । तर यो कुरा गणेशमानले मान्नु भएन । गणेशमानको मत राणालाई सभापति बनाउनुहुँदैन भन्ने पक्षमा थियो । यसरी सभापीिका लागि सुवर्ण शमशेर र गणेशमानबीच चुनावी प्रतिस्पर्धा भयो र अन्त्यमा सुवर्ण शमशेरले नै जित्नुभयो । २०१३ साल तिरको कुरा, त्यसवेला टंकप्रसाद आचार्यको सरकार थियो । सुवर्ण शमशेर सभापति भएपछि संसदीय चुनाव हुने जस्तो कुरा भयो । राजाले पनि सुवर्णलाई भेटेर प्रधानमन्त्री दिने भन्ने पक्का भयो । तर गणेशमानले सुवर्णलाई प्रधानमन्त्री स्वीकार्नु भएन । त्यसपछि विपीले राजा महेन्द्रसँग कुरा गरेर सुवर्णलाई मन्त्रीपरिषदको अध्यक्ष बनाइयो र संसदीय चुनाव पनि भयो । काङ्ग्रेसले १०९ सिट मध्ये ७३ वटा सिटमा जित्यो । अब विपी कोइरालालाई प्रधानमन्त्री बनाउने काङ्ग्रेसको चाहना थियो । सुवर्ण शमशेर पनि विपीलाई प्रधानमन्त्री बनाउन राजी हुनुहुन्थ्यो । तर राजाले सुवर्णलाई नै मन पराउँथे । यता विपी पत्नी शुसिलाको पनि विपीलाई प्रधानमन्त्री नबन्न सल्लाह थियो । पार्टीका सबै नेताहरुले मनाएपछि शुसिला भाउजूले एक वर्षका लागि मात्रै विपी प्रधानमन्त्री हुनुपर्ने बताउनुभयो । त्यसैले अवस्था एकदमै जटिल बनेको थियो । यस्तो अवस्थामा सुवर्ण शमशेरको प्रस्ताव तथा गणेशमान सिंह र सुर्यनाथ उपाध्यायको समर्थनमा विपीको नाम प्रधानमन्त्रीको लागि प्रस्ताव गरियो । राजा महेन्द्रले करिब दुर्ई महिना ढिलो गरी स्वीकृत गरेर नाम पठाए । विपी प्रधानमन्त्री बन्नुभयो । तर विपी त राजाले मन नपराएका मान्छे, त्यसैले सरकार र राजाबिच भित्रभित्रै संघर्ष चलिरहेको थियो । स्वतन्त्र काम गर्ने वातावरण नै थिएन । यस्तो अवस्थामा सरकार गठन भएको एक वर्षपछि विपीले सरकार छोड्ने मनस्थिति बनाउनुभएको थियो । विपी उपयुक्त समय मिलाउनतिर लाग्नुभयो । किनकि सुवर्ण शमशेरलाई प्रधानमन्त्री बनाउँदा गणेशमान रिसाउने र पार्टी फुट्ने डर विपीलाई थियो । उहाँले राजीनामा दिने मेसो मिलाउँदा मिलाउँदै राजाले जेल हालिदिए । देशमा पञ्चायती ब्यवस्थाको शुरुवात भयो ।

राजाले विपीलाई जेलमुक्त गरिदिए । त्यसपछि विपी भारत जानुभयो । लगभग २०२५ सालतिरको कुरा, राजा भारत जाँदा विपीसँग एयरपोर्टमा भेट भएछ । राजा महेन्द्रले विपीलाई राजनीतिक कुरा गर्न नेपाल नै आउनु भनेछन । किनभने पछिल्लो समयमा राजा महेन्द्रले पनि विपीलाई प्रधानमन्त्री बनाउन चाहन्थे । त्यसैले विपी विराटनगरसम्म आउनुभयो तर काठमाडौंबाट सुर्यनाथ उपाध्यायले पत्र लेखेर विपीलाई नेपाल नफर्कनू राजाले जेल हाल्छन् भनिदिएछन । यो वास्तवमै षड्न्त्र थियो । विपी पत्र पाएपछि पुनः भारत नै फर्र्कनुभयो । किनकि सुर्यनाथ उपाध्याय त्यसवेला काङ्ग्रेसको नेतृत्व तहमै थिए । उनको कुरा विपीले विश्वास नगर्ने कुरै भएन । यसरी आफ्नै पार्टीका व्यक्तिबाट षड्यन्त्र भएपछि विपी पुनः भारत नै जानुभयो । यसबिचमा महेन्द्रको निधन भयो । बिरेन्द्र राजा भए । विपी कोइराला पनि राष्ट्रिय मेलमिलापको नीति लिएर २०३२ सालमा नेपाल फर्कनुभयो । त्यसवेला मैले विपीलाई भनेको थिएँ, “सानदाजु तपाईं आउनलाई ढिला गर्नुभयो । राजा महेन्द्र हुँदा नै तपार्इं नेपाल आउनु पर्ने हो । किनकि महेन्द्र अरुलाई सोध्दैनथिए । राजा विरेन्द्र त रानी तथा भाइबाट निर्देशित छन् । वीरेन्द्र नरम खालका भए पनि रानी ऐश्वर्या र तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र कडा खालका छन् । त्यसैले यिनीहरुले तपार्इंसँग पूरै मिलेर शक्तिमा आउन तपाईंलाई दिंदैनन ।” उहाँलाई मैले भनेको कुरा यही हो । आखिर भयो पनि त्यस्तै । विपी नेपाल आउने वित्तिकै राजाले थुने, तर केही समयपछि छोडिदिए ।

विपी राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि काङ्ग्रेसको अवस्था अलि कमजोर भयो । गणेशमान सिंहले पनि विपीले भनेको नटेर्ने अवस्था थियो । २०३६ सालमा जव जनमत सङ्ग्रह भयो । यसमा बहुदलको पराजय भयो । जनमत संग्रहपछि विपीले मलाई पुनः काङ्ग्रेसमा बोलाउनुभयो । पाल्पाको अधिवेशनबाट म फेरि काङ्ग्रेसमा फर्किएँ । विपीको नजिक भएर काम गरें । जनमत संग्रहपछि विपी राष्ट्रिय मेलमिलापको नीतिको विषयमा गल्ति भयो भन्ने गर्नुहुन्थ्यो । मेलमिलापको विषयमा “गिरीजाले कुरै बुझेको छैन, गणेशमानले नबुझे पनि बिरोध गर्नुहुन्न र किसुनजीले चाँही म मरेपछि कुरा बुझ्नुहुन्छ, ईन्दिरा गान्धीले नेपाललाई सिक्किम बनाउन खोजिरहेकाले राजा र हामी मिल्नैपर्छ । यस कारण म नेपाल आएको हुँ ।” विपीले मसँग यसो भन्नुभएको थियो । विपीसँग दुुरदर्शीता थियो । त्यसैले उहाँ पञ्चहरुलाई पनि हातमा लिइहाल्नुभयो । उहाँ भन्ने गर्नुहुन्थ्यो कि ‘काङ्ग्रेसको मूख्य प्रतिस्पर्धा भनेको त कम्युनिष्टसँग पो हो त, पञ्चहरु त राजनीतिक शक्ति नै होइनन् नि ।’ त्यसैले बारम्बार मनमोहन अधिकारीले सहकार्यको कुरा गर्दा पनि विपीले कम्युनिष्टहरुसँँग सहकार्य गर्नुभएन । यसरी विपी धेरै कुराको सोंच विचार गरेर मात्रै बोल्नुहुन्थ्यो । जीवनका अन्तिम दिनहरुमासमेत राष्ट्रियताको विषयमा उहाँ चिन्ता गरिहनुहुन्थ्यो । २०३९ सालमा यस्ता महान नेता विपी कोइराला संसारबाट विदा हुनुभयो ।

विपी कोइराला संघर्षमै जीवन बिताएको मान्छे हो । उहाँ जीवनभरि सुखले बाँच्न पाउनुभएन । विपीले बाँचुन्जेल घर, जग्गा तथा मोटर केही पनि जोड्नुभएन । त्यस्तो ब्यक्तित्व भएको नेता देशमा अहिले कोही पनि छैनन । जव विपी कोइरालाको निधन भयो तब काङ्ग्रेस लथालिङ्ग बन्यो । मेरो बिचारमा गिरिजाप्रसाद कोइरालाले सबै कुरा बुझेर पनि सत्ता स्वार्थका कारण काङ्ग्रेसलाई बिगार्नुभयो । यसको उदाहरणकै रुपमा २०५१ सालको चुनावपछि बनेका पाँच जना प्रधानमन्त्रीहरुलाई लिन सकिन्छ । शुरुमा मनमोहन अधिकारी त्यसपछि शेर बहादुर देउवा, लोकेन्द्र बहादुर चन्द, सुर्य बहादुर थापा र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । आफैं प्रधानमन्त्री हुने मन भएकाले सबैलाई बनाउँदै हटाउँदै गर्ने खेल गिरिजाले नै खेल्नुभएको हो । २०५६ सालको संसदीय चुनावपछि पनि उस्तै भयो । पार्टी फुट्यो देश झन बर्र्वाद भयो । यो सबैै पछिल्लो समयका काङ्ग्रेसीहरुले विपीको बिचारधारालाई आत्मसाथ नगर्ने प्रवत्तिकै उपज हो ।

अहिलको राजनीतिक परिस्थति विलकुलै अप्ठ्यारो छ । हरेक दलका नेताहरु प्रधानमन्त्री हुने चाहनाका कारण सत्ता स्वार्थमा लागिरहन्छन । विपी कहिले काहीँ ठट्टामा भन्नुहुनथ्यो ‘भारतकी रानीको सेवा गर्नुभन्दा त नेपालकै राजाको सेवा गर्नु राम्रो’ । त्यसवेला इन्दिरा गान्धी भारतकी रानी जत्तिकै थिइन् । त्यसैले उहाँ मेलमिलापको नीति लिएर नेपाल फर्कनुभएको हो । त अहिलेका हाम्रा नेताहरु भारतीय खेलमा फसिरहेका छन् । विपीको जस्तो विचारशक्ति अहिलेका नेताहरुमा नभएकै कारण अहिले देशको हालत यस्तो बनेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्