स्थानीय निर्वाचन सरगर्मी : घोराही उपमहानगरपालिका मेयरको अकांक्षीमा प्रकाश – Kanika Khabar
Thursday, May 16Nepali News Portal

स्थानीय निर्वाचन सरगर्मी : घोराही उपमहानगरपालिका मेयरको अकांक्षीमा प्रकाश

    मा प्रकाशित

No description available.

कनिका डेस्क
फागुन ३, दाङ ।
सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै देशभर चुनावी माहोल बाक्लिदै जान थालेको छ । निर्वाचन आयोगले आवश्यक तयारी गरिरहँदा विभिन्न स्थानीय निकायमा पनि आकांक्षीहरु बढ्दै जान थालेका छन् ।

यता दाङ जिल्लामा पनि चुनावी माहोल तातिदै जान थालेको छ । चिया पसलदेखि विभिन्न कार्यक्रममा चुनाव केन्द्रित बहस हुन थालेको छ । जिल्लाका दुई उपमहानगरपालिका चुनावका मुख्य बहसका केन्द्र बनेका छन् । विशेष गरेर दाङका दस स्थानीय पालिका मध्ये घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका चुनाव आकर्षक बनेका छन् । विभिन्न राजनीतिक दलले आआफ्ना उम्मेदवार छनौटको तयारी गरिरहेको छन् । त्यसो दलभित्र पनि आकांक्षीहरु बढ्दै जान थालेका छन् ।
यस्तै घोराही उपमहानगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका नेता तथा प्रदेश २ (क) का सभापति प्रकाश श्रेष्ठ आकांक्षीका रुपमा देखिएका छन् । यतिबेला नेता श्रेष्ठ पार्टीभित्र आफूलाई बलियो उम्मेदवारका रुपमा उभ्याउन भगिरथ प्रयत्नमा जुटेका छन् ।

लामो समयदेखि प्राध्यापन पेसामा आवद्ध श्रेष्ठ जिल्लामा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । पार्टीभित्र देखिएका गुट उपगुटका सुचिमा प्रायः नपर्ने नेता श्रेष्ठ साझा पङ्तिमा आफूलाई उभ्यान चाहन्छन् । पार्टीको १४ औँ अधिवेशनमा पनि आफू साझा उम्मेदवारको रुपमा रहेको भए पनि परिस्थितिले कुनै लाइनमा देखाएको अनुभव सुनाउँछन् । ‘पार्टीमा देखिएका गुट उपगुटमा म आफूलाई उभ्याउन चाहन्नँ, पार्टीलाई सुदृढीकरण गराउनका लागि हामी नेता कार्यकर्ता साझा बन्न सक्नुपर्छ । हामी जति साझा रहन्छौँ पार्टी त्यति नै सुदृढ र सबल रहन्छ भन्ने मेरो बुझाइ छ ।’ उनले थपे, ‘गुटको राजनीतिले व्यक्तिवादी सोंच हावी गराउँदछ, व्यक्तिवादी सोंचले पार्टीलाई सुदृढ बनाउन गाह्रो हुन्छ, घात र अन्तरघात जन्माउँछ, यस्तो प्रवृतिबाट हामी टाढा रहन जरुरी छ । राजनीति मैले मेरा लागि होइन समाजका लागि, जनताका लागि अनि पार्टीको अस्तित्वका लागि गर्ने हो । हाम्रा कार्य र योगदान पछिलो पुस्ताका लागि अनुकरणीय बन्न जरुरी छ ।’
‘स्थानीय तहसँग स्थानीय स्तरका विकास जोडिएका हुन्छन् । स्थानीय तहले नै स्थानीय स्तरका विकासमा जोड दिने हो । घोराही उपमहानगरपालिकाको समग्र विकासमा उपमहानगरपालिकाले योजना तय गर्ने हो । स्थानीय तहको बजेट, प्रदेशको बजेट तथा केन्द्रीय बजेटलाई परिचालन गरेर यस क्षेत्रको विकास गर्ने थुप्रै काम बाँकी नै छन् । बितेका पाँच वर्षमा केके भए भएनन् भनेर टिप्पणी गर्न होइन, अब के गर्ने भन्ने योजना बनाउने हो ।’ उनले थपे, ‘विकासका लागि हामी एकमत हुनैपर्छ , विकासका सन्दर्भ विभाजित हुनु राम्रो होइन ।’

२०४२ सालमा नेपाली काङ्ग्रेसले देशव्यापी रुपमा थालेको सत्याग्रह कार्यक्रममा सक्रिय रुपमा देखा परेका श्रेष्ठले स्मरण गर्दै भने, ‘औपचारिक रुपमा २०४२ सालको काङ्ग्रेसको सत्याग्रहको सहभागिता नै मेरो राजनीतिक जीवनको सुरुवात हो ।’ उनले थपे, ‘तीर्थराज ज्ञवाली चैतुले दाङको कार्यक्रमको नेतृत्व लिनुभएको थियो, उहाँकै निवासमा भेला भएर सत्याग्रह कार्यक्रममा सहभागी भएका थियौँ । यो नै मेरो औपचारिक रुपमा राजनीतिक कदम थियो ।’

 

पिस्कर काण्डमा पिल्सिएको नेपाल तत्कालीन पञ्चायती शासनको दमनमा थियो । दमनको विरोधमा नेपाली काङ्ग्रेसले सात सुत्रीय माग राखी चौथो पटक आह्वान गरेको सत्याग्रह कार्यक्रममा सहभागी भएका नेता श्रेष्ठ त्यतिबेला १६ वर्षका मात्र थिए । १६ वर्षकै उमेरबाटै राजनीतिमा होमिएका नेता श्रेष्ठले भने, ‘सत्याग्रह कार्यक्रममा सहभागी भएको बेला जिल्लाका विभिन्न नेता तथा कार्यकर्ता पक्राउ परेका थिए । म पनि पक्राउ परेँ । एक रात हिरासतमा बिताएँ ।’ राजनीतिक ‘डेब्यु’ कै दिन हिरासतको जीवन भोगेका थिए नेता श्रेष्ठले ।

नेता श्रेष्ठ कुशल नेतृत्वको रुपमा चिनिन्छन् । महेन्द्र बहुमुखी क्याम्पस दाङको दुई कार्यकाल स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गरेको अनुभव छ उनीसँग । २०५१ र २०५३ सालमा उनी स्ववियुको सभापति भएर काम गरे । त्यस्तै नेविसंघ दाङको दुई कार्यकाल अध्यक्ष भएर काम गरेका श्रेष्ठ नेविसंघको केन्द्रीय सदस्यसमेत रहे ।
त्यसो त नेपाली काङ्ग्रेस घोराही नगर सभापति समेत भएर नेतृत्वदायी भूमिका निर्वाह गरेका श्रेष्ठ काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट प्रदेश २ (ख) को सभापतिमा लोकप्रिय मतका साथ विजयी भएका हुन् ।

प्राध्यापन पेसामा समेत आवद्ध रहेका श्रेष्ठ संस्कृति विषयमा स्नातकोत्तर गरेका छन् भने विद्यावारिधिको अन्तिम चरणमा समेत रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्