जुम्लेकुलामा कांग्रेस सभा : राजनीतिलाई आर्थिक समृद्धिसँग जोड्न आग्रह – Kanika Khabar
Monday, May 20Nepali News Portal

जुम्लेकुलामा कांग्रेस सभा : राजनीतिलाई आर्थिक समृद्धिसँग जोड्न आग्रह

    मा प्रकाशित

खेमराज रिजाल
शान्तिनगर, १४ फागुन ।

पश्चिम दाङको शान्तिनगर गाउँपालिकाको जुम्लेकुलामा कांग्रेस नेता स्वर्गीय महेन्द्रनारायण निधिको १००औँ जन्मजयन्ती, गाउँपार्टी कार्यालय एवं आँखा शिविरको आयोजना गरी नेपाली कांग्रेस दाङले चुनाव लक्षित सभा सम्पन्न गरेको छ ।

कांग्रेस शान्तिनगर गाउँ इकाई समितिको आयोजनामा भएको कांग्रेससभामा नेपाली कांग्रेस जिल्ला तहका विभिन्न पदीय भूमिकामा रहेका नेता कार्यकर्ताहरूले केन्द्रीय नेतृत्वसँग राजनीतिलाई आर्थिक समृद्धिसँग जोड्न आग्रह गरेका छन् । नेपाली कांग्रेस शान्तिनगर गाउँपालिकाका इकाई सभापति झलक केसीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वोय दीपक गिरी र गेहेन्द्र गिरी सहितका जिल्ला नेतृत्वहरू सहभागी रहेको सो कांग्रेस सभामा बोल्ने वक्ताहरूले राजनीतिक स्वतन्त्रताको अनुभूति धेरै भइसकेकाले अब राजनीतिलाई स्वतन्त्रतासँग मात्र नजोडेर जनताका आर्थिक समृद्धिका विषयसँग जोड्न पनि आग्रह गरेका थिए ।

कार्यक्रममा सहभागी जिल्ला तथा पालिकाका नेतृत्वहरूले मुलुकमा तीनै तहका निर्वाचनमा नेपाली कांग्रेसलाई लैजानका लागि अब आर्थिक एजेण्डाहरू ल्याउनुपर्ने पनि बताएका थिए । वीपी कोइरालाको समाजवाद पनि आर्थिक समृद्धि र विकासका एजेण्डासँग जोडिएको बताउँदै हरेक नागरिकलाई आर्थिक रूपमा सक्षम बनाउने कार्यक्रम सहित नेपाली कांग्रेस अघि बढ्नुपर्ने पनि उनीहरूको सुझाव थियो । केन्द्रीय सदस्य द्वोय गिरीहरूलाई संकेत गर्दै सहभागीहरूले अब नेपाली कांग्रेसमा व्यक्तिलाई बलियो बनाउनेभन्दा पनि संस्थालाई बलियो बनाउने अभियान थाल्न र सबै नेता कार्यकर्ताबीच भावनात्मक एकताको वातावरण बनाउन पनि आग्रह गरेका थिए ।

‘अर्कालाई दोष थोपरेर मात्रै आफू चोखो कांग्रेस बन्ने परिकल्पना अब सार्थक हुन सक्दैन, त्यसैले कांग्रेसमा व्यक्तिवादी चरित्र हाबी हुनु हुँदैन, संस्थालाई बलियो बनाउने दायित्व नेतृत्वको पनि हो’, कार्यक्रममा शुभकामना व्यक्त गर्दै स्थानीय तहका कांग्रेस नेता रवि बुढाथोकिले भने । उनले राजनीतिमा युवाहरूको भूमिकालाई मजबुत बनाउनका लागि विकासका ऐजेण्डालाई प्राथमिकता दिनुपर्ने पनि सुझाव दिए ।

कांग्रेससभामा बोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि बिमल रिजालले कांग्रेसभित्र एकले अर्काको टिप्पणी गर्ने र आफू पन्छने प्रवृत्ति रहेको भन्दै यसलाई उच्च नेतृत्वले व्यवस्थापन गर्नुपर्ने सुझाव दिए । अर्का महाधिवेशन प्रतिनिधि टीका घर्तीले महाधिवेशनमा भएका गतिविधिहरूलाई आत्मसमीक्षा गर्दै महाधिवेशनमा पराजित हुनेहरूको मतलाई पनि उच्च सम्मान गर्दै पार्टीलाई बलियो बनाउन लाग्नुपर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस नगर सभापति सुरेश हमालले व्यक्तिलाई बलियो बनाउनेभन्दा पनि संस्थालाई बलियो बनाउने प्रवृत्तिको विकास गर्न आग्रह गर्दै आसन्न निर्वाचनमा नेपाली कांग्रेसलाई बलियो पार्टीका रूपमा स्थापित गर्न सबै नेता कार्यकर्ताहरूले अग्रसर हुनुपर्ने बताए ।

नेपाली कांग्रेस शान्तिनगर गाउँपालिकाका उपसभापति द्रोणबहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस महिला नेतृ तथा महाधिवेशन प्रतिनिधि शुष्मा लामिछाने गिरीले वीपीको समाजवादलाई आत्मसात गर्दै नेपाली कांग्रेसले अब विकासका एजेण्डालाई बोकेर चुनावमा जानुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा नेपाली कांग्रेसका अधिकांश पालिका स्तरका नेता कार्यकर्ताहरूले कांग्रेसमा व्यक्तिवादी चिन्तन हाबी भएको भन्दै चौधौँ महाधिवेशनले चुनेका यसै क्षेत्रका केन्द्रीय सदस्य दीपक गिरी र गेहेन्द्र गिरीले सबैलाई एउटै मालामा गाँसेर पार्टीमा क्रियाशील बनाउन आग्रह गरे । उनीहरूले दुई नेता गिरीको विग्रहलाई भजाएर कम्युनिस्टहरूले फेरि पनि निर्वाचनमा विजय हात पार्ने सपना देखिरहेको भन्दै यो एकतालाई भावनात्मक एकतामा जोड्न र सबै नेता कार्यकर्ता जोडिन पनि आग्रह गरेका थिए ।

सो अवसरमा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति तथा शान्तिनगरकै स्थानीयबासी शंकरप्रसाद डाँगीले निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर लैजाने प्रण गर्दै कार्यकर्तालाई अनावश्यक रूपमा खेमा र गुटबन्दीको भ्रममा नपर्न पनि विश्वस्त बनाएका थिए । कार्यक्रममा स्थानीय नेता डम्बर खत्री, सीता पोख्रेल, कृष्णबहादुर चौधरी, खेमराज विश्वकर्मा, शम्भु गिरी, प्रेमा केसी, ओपेन्द्र रावत, तेजराज वली, निमु जैसी, पार्वती पुन, चेतबहादुर डाँगी, देवीराम रिजाल, कमानसिंह डाँगी, बुद्धिराम तिवारी, प्रमोद बस्नेत, विपना रोका, फर्साराम डाँगी, महाधिवेशन प्रतिनिधि युवराज खड्का, कृष्णकुमार गिरी, अरुण लहरेलगायतले निर्वाचनमा कांग्रेसलाई बलियो पार्टी बनाउन टिमको राजनीतिभन्दा माथि उठ्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय राजनीतिमा परिवर्तन आउन सक्छ : प्रमुख अतिथि गिरी

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले निकट दिनमै राष्ट्रिय राजनीतिमा ठूलो परिवर्तन आउनसक्ने बताउँदै सबै परिस्थितिमा गम्भीर भएर अघि बढ्न आम नेपाली कांग्रेस नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

एमसीसी पास गर्ने सन्दर्भमा भएका सत्ता गठबन्धनका पार्टीका गतिविधिका कारण समस्या उत्पन्न भएको बताउँदै यसमा कुनै पनि अलमलमा नपर्न नेपाली कांग्रेस नेता कार्यकर्ताहरूलाई पनि उनले आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रीय सदस्य गिरीले चाँडै नै एमसीसीले निकास पाउने अपेक्षा गर्दै कांग्रेसलाई स्थानीत तहदेखि संघसम्मै विजयी बनाउन आम कार्यकर्ता कांग्रेसको मालामा जोडिएर रहन आग्रह गरे ।

सो अवसरमा अर्का केन्द्रीय सदस्य तथा विशिष्ट अतिथि गेहेन्द्र गिरीले नेपाली कांग्रेसको राजनीतिमा गिरी भन्ने थेगो हटिसकेको बताउँदै यसमा कुनै पनि नेता कार्यकर्ता भ्रममा नपर्न आग्रह गरे । विगतमा भएका ती गलत बुझाइको समीक्षा गर्दै अब नेपाली कांग्रेसलाई व्यक्तिवादी राजनीतिबाट माथि उठाएर संस्थालाई बलियो बनाउन आफ्नो पनि अथक प्रयास रहिरहने पनि उनले उद्घोष गरे । ‘म विनम्रतापूर्वक आग्रह गर्दछु, अब गिरीको थेगो कांग्रेसको राजनीतिबाट हटाइदिनुस्, हामीबीच कुनै राजनीतिक तिक्तता छैन’, केन्द्रीय सदस्य गिरीले भने । सो अवसरमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि डा नहकुल केसीले एमसीसी नेपालजस्ता मुलुकका लागि अपरिहार्य सहयोग रहेको बताउँदै एमसीसीको गलत व्याख्याका पछि नलाग्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस निवर्तमान सभापति कीर्तिबहादुर खड्का, क्षेत्रीय सभापति जगत खड्का, कांग्रेस नेता केशव आचार्य, शंकर गिरी, प्रदेश सभापति देवेन्द्र रिजाल, खिमबहादुर वली, नेता खिमप्रसाद खराल, शिक्षक नेता नीमबहादुर नेपालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा केही नेता कार्यकर्ता नेकपा एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए ।

यसैबीच केन्द्रीय सदस्यद्वोय दीपक गिरी र गेहेन्द्र गिरीलगायत कांग्रेस नेताहरूले शान्तिनगर गाउँपालिका नेपाली कांग्रेस पार्टी कार्यालयको शिलान्यास गरेका छन् । नेपाली कांग्रेस शान्तिनगरका नेता स्वर्गीय तिलक केसीको स्मृतिमा उनका छोरा बलबहादुर केसीले करिब १० लाख मूल्य बराबरको एक कठ्ठा जग्गा उपलब्ध गराएपछि सो स्थानमा पार्टी कार्यालय भवन निर्माण हुनथालेको छ । सो अवसरमा जग्गादाता बलबहादुर केसीलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस बबईका सचिव दीपक लामिछानेले गरेका थिए । सो अवसरमा आयोजित निःशुल्क आँखा शिविरमा कम्तिमा दुई सय जनाले आँखा परीक्षण गराएका थिए । आंखा शिविरमा राप्ती आँखा अस्पताल रक्षाचौरले प्राविधिक व्यवस्थापन गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्