कनिका खबर
असार ३, दाङ ।
कोरोना सङ्क्रमण दिनानुदिन बढ्दै जाँदा पिसिआर परीक्षण मेसिनको माग पनि बढ्दै जान थालेको छ । यसैबिच कोरोना रोकथाम तथा नियन्त्रणका लागि केन्द्रको भरमा बस्न नसिकने भन्दै स्थानीय सरकारहरू धमाधम पीसीआर परीक्षण गर्ने उपकरण किन्ने तयारीमा लागेका छन् ।
अहिलेसम्म एक दर्जन भन्दा बढी स्थानीय सरकारले उपकरण किन्ने तयारी गरेका छन् । केहीले चन्दा समेत उठाउन थालेका छन् । किन्ने चाहाने स्थानीय सरकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट अनुमति लिएरपछि किन्न पाइन्छ । पक्रिया पूरा गर्दा कम्तिमा १० दिनदेखि एक महिनाको समय लाग्ने यो उपकरण किन्दैमा पिसिआर जाँच भइहाल्छ भन्ने हुँदैन । पिसिआर जाँच गर्ने उपकरण एउटा सानो पाटोमात्रै हो, एउटा मेसिन खरिद गर्न कम्तिमा ३५ देखि ५० लाखसम्म खर्च हुन्छ । मेसिन किन्दैमा परीक्षणको दायरा बढ्ने सुनिश्चित नहुने विज्ञहरू बताउँछन् । विज्ञका अनुसार सिंगो परीक्षण प्रणालीमा त्यो उपकरण बाहेक अन्य ९० प्रतिशत प्रक्रिया हुन्छ । २४ घण्टै विजुली पनि चाहिन्छ । जनशक्ति पनि त्यही अनुसार व्यवस्थापन गर्नुपर्छ । जुन कुरा स्थानीय सरकारका लागि चुनौती देखिन्छ । माघमा पहिलो पटक नेपालमा कोरोना भाइरसको संक्रमण देखिए पनि हालसम्म यो भाइरस ७७ मध्ये ७३ जिल्लामा फैलिसकेको छ ।