कनिका खबर
असार ४, दाङ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा थप एक पिसिआर परीक्षण मेसीन सञ्चालनमा आएको छ । यससंगै अव प्रतिष्ठानमा दैनिक एक हजार जनासम्मको स्वाव परीक्षण गर्ने भएको छ ।
नयां मेसिन बुधवाररातीदेखि सञ्चालनमा आएको प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् । ‘प्रतिष्ठानमा सिसिआर मेसिन थप भएको छ, अव सिफ्ट अनुसार मेसिन चलाइने छ’–रजिष्टार देवले भने–‘अव दुई वटा मेसिन सञ्चालनमा आएपछि दैनिक ८ सयदेखि एक हजारसम्म स्वाव परीक्षण गरिनेछ ।’ यस अघिसम्म प्रतिष्ठानमा दैनिक बढिमा चारदेखि पाँच सय नमूना परीक्षण हुंदै आएको थियो ।
नयां मेसिन जडानसंगै प्रतिष्ठानमा परीक्षणको पर्खामा रहेका स्वाव नमुनाहरु चारदिनभित्रै परीक्षण भैसक्ने बताइएको छ । उनका अनुसार प्रतिष्ठानमाकरीव ४ हजार नमूना परीक्षण हुन बांकि रहेको छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङसहित सल्यान, रोल्पा,रुकुम पश्चिम,रुकुम पूर्व, प्युठान, कपिलबस्तु,बाँके,बर्दियासम्मका स्वावहरु परिक्षणको प्रक्रियामा रहेका रजिष्ट्रार देवले जानकारी दिए ।
उनका अनुसार दैनिक करीव ८ सयदेखि एक हजारसम्म व्यक्तिहरुको स्वाव परीक्षणका लागि आउने गरेको छ । एउटै मेसिनबाट परीक्षण गर्दा ढिलाई भएको थियो । जसले गर्दा क्वारेन्टाइनमा सबेका व्यक्तिहरु घर जान थालेका थिए ।
तर अव त्यो समस्या जिल्लामा नदेखिने प्रतिष्ठानले जनाएको छ । ‘पहिले परीक्षणका लागि स्वाव धेरै आउने तर परक्षण कम हुदाँ समस्या देखिएको थियो’–रजिष्टार देवले भने–‘अव दुई वटा मेसिनबाट स्वाव परीक्षण हुने भएकाले विगतको समस्या दोहोरिने छैन ।’