असोज २०, दाङ ।
जनता समाजवादी पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेकी चन्दा चौधरी संसद बन्ने पक्कापक्की भएको छ । नेपाली कांग्रेसले चौधरीलाई समानुपातिक तर्फको उम्मेदवार बनाएसँगै उनका लागि संसदको ढोका पराकिलो बनेको हो ।
चौधरी यही असोजमा जसपा परित्याग गरी काङ्ग्रेसमा प्रवेश गरेकी हुन् । पार्टी प्रवेशको केही दिनमा चौधरीका लागि यो ‘बम्पर’ परेको सूचना बाहिरिएको छ । समानुपातिक उम्मेदवारको बन्दसूची संशोधनका क्रममा कांग्रेसले चन्दाको नाम पनि समावेश गरेको हो । चन्दाको नाम मधेसी महिलातर्फ तीन नम्बरमा रहेको छ । उनी संसद बन्ने लगभग पक्कापक्की भएको स्रोतले बतायो । पहिला उनलाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाउने भनिए पनि समानुपातिकको बन्दसूची संशोधनको क्रममा समानुपातिक उम्मेदवार बनाइएको स्रोतले बतायो । प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको आग्रहमा चौधरीलाई समानुपातिक उम्मेदवार बनाइएको स्रोतको दावी छ । यद्यपि चौधरीको भारतीय गृहमन्त्री राजनाथ सिंहसँग राम्रो सम्बन्ध रहेको छ ।
चन्दा नेपाली राजनीतिमा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट आएकी हुन् । उनी तराई मधेश महिला संघको संस्थापक अध्यक्ष पनि हुन् । ०६४ मा तमलोपाको केन्द्रीय सदस्यमा भएकी चन्दाले भारतीय मूलका मानिसहरूको उद्योग वाणिज्य सङ्घ, नेपालको संयोजकको जिम्मेवारी समेत सम्हालेकी थिइन् ।
२०६६ मा तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारमा उनी खेलकुद राज्यमन्त्री बनेकी चन्दा ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट समानुपातिक सांसद बनेकी थिइन् । २०७८ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा चन्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पनि बनेकी थिइन् ।