बालिका बलात्कारको आरोपमा भक्तपुरका छुट्टाछुट्टै स्थानबाट दुईजना पक्राउ – Kanika Khabar
Thursday, November 13Nepali News Portal

बालिका बलात्कारको आरोपमा भक्तपुरका छुट्टाछुट्टै स्थानबाट दुईजना पक्राउ

    मा प्रकाशित

कनिका संवाददाता
असार १२, भक्तपुर
भक्तपुरमा छुट्टाछुट्टै बलात्कार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पीडितका आफन्तले दिएको जाहेरीका आधारमा दुई जनालाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । असार ४ गते दिउँसो १४ वर्षीया एक बालिकालाई ललाइफकाई प्रलोभनमा पारी काभ्रेपलान्चोक भुम्लु गाउँपालिका वडा नं. १ बस्ने २१ वर्षीय सोमराज परियारले जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरीले परियारलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले मध्यपुर ठिमी वडा नं. ९ को निलबाराही जंगलमा लगेर बालिकालाई बलात्कार गरेको उजुरी परेको थियो । पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा परियारलाई ५ गते नै पक्राउ गरी जिल्ला अदालत भक्तपुरबाट १० दिनको म्याद थप गरिएको र अनुसन्धान भइरहेको गिरीले जानकारी दिनुभयो ।
यसै गरी जेठ ३१ गते दिउँसोको समयमा १३ वर्षीया बालिकालाई आफ्नै कोठामा लगेर बलात्कार गरेको आरोपमा रुकुम भुमे गाउँपालिका वडा नं. ९ का ३५ वर्षीय जबर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले ती बालिकालाई प्रलोभनमा पारी चाँगुनारायण नगरपालिका १ दुवाकोट बेसीमा आफ्नै कोठामा लगेर बलात्कार गरेको भनी पीडित बालिकाकी हजुरआमाले उजुरी दिएको प्रहरीले जनाएको छ । हजुरआमाको उजुरीका आधारमा खड्कालाई असार ६ गते पक्राउ गरी भक्तपुर जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान थालिएको उपरीक्षक गिरीले जनाकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्