क्वारअन्टिन रहेको विद्यालयमा आगलागी, १६ लाख बराबरको क्षति – Kanika Khabar
Friday, March 29Nepali News Portal

क्वारअन्टिन रहेको विद्यालयमा आगलागी, १६ लाख बराबरको क्षति

    मा प्रकाशित

कनिका संवाददाता
असार १२, डोटी
डोटीको केआईसिंह गाउँपालिका बडा नं ६ फलेडीमा रहेको देवस्थल माध्यमिक विद्यालयमा आगलागी हुँदा १६ लाख बराबरको क्षति भएको छ । बिहीबार राति करिब ८ः४० बजेको समयमा विद्यालयमा जडान गरिएको विद्युत् सर्ट भएर आगलागी भएको स्थानीय यज्ञराज भट्टले जानकारी दिनुभयो । आधुनिक प्रणालीबाट दूरशिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको उक्त विद्यालयमा आगलागी हुँदा कार्यालय रहेको कोठा पूर्ण रुपमा नष्ट भएको छ ।

भारतबाट आएका नागरिकहरूका लागि क्वारेन्टाइन समेत निर्धारण गरिएको उक्त विद्यालयमा लागेको आगो क्वारेन्टाइन सुरक्षामा खटिएका प्रहरी, क्वारेन्टाइनमा रहेका मानिस र स्थानीयको सहयोगमा १ घन्टापछि मात्रै नियन्त्रणमा आएको थियो । आगलागीबाट विद्यालयको अफिस कोठामा रहेको कम्प्युटर ५ थान, ल्यापटप १ थान, फोटोकपि मेशिन २ थान, प्रिन्टर १ थान, विद्युतिय हाजिरी मेशिन लगायतका मेशिनरी उपकरण जलेर नष्ट भएको विद्यालयका लेखापाल गणेश भट्टले बताउनुभयो ।

त्यस्तै, काठका टेबल, ह्वाइट बोर्ड , प्लाष्टिकका कुर्र्सी, बुक कर्नर, ५० हजार बराबरका खेलकुदका सामाग्री, विद्युत्को मिटर तथा तार, डिजे १ वटा जलेर नष्ट भएको उहाँले बताउनुभयो । लाईब्रेरीका झण्डै २ लाख ५० हजार बराबरका पुस्तक पनि जलेर काम नलाग्ने भएको विद्यालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्