कनिका खबर
असार १२, काठमाडौँ ।
आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री राम बहादुर थापाले लागुऔषध दुरुपयोग रोक्न आफ्ना सन्तान र प्रियजनको शीघ्र शुद्धीकरण र सुमधुर पारिवारिक पुनःस्थापनामा जोड दिएका छ्न् । शुभकामना मन्तव्य दिंदै गृहमन्त्री थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार रोक्न आमसमुदायको सहकार्य आवश्यक भएको बताएका छन् ।
‘लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्ध सबै निकाय एवं आमसमुदायको साथ र सहयोगका लागि अपिलसमेत गर्दछु’, मन्त्री थापाले सन्देशमा भनेका छन् ।
लागुऔषध दुरुपयोगको विश्वव्यापी रुपमा बढ्दो चुनौती सामना गर्न संयुक्त राष्ट्रसङ्घ महासभाबाट घोषणा भई विगत तीन दशकदेखि यो दिवस मनाउन थालिएको हो । आज सारा विश्व र मानव समुदाय नै कोभिड–१९ सङ्क्रमणको महामारीसँग जुधिरहेको छ । संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयले तथ्य र साझा दायित्वमा आधारित समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।
प्रत्येक वर्ष जुन २६ मा यो दिवस मनाइन्छ ।