कनिका खबर
असार १५, भक्तपुर ।
भक्तपुरमा रहेको भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक, नर्सलगायतका कर्मचारी आन्दोलित भएका छन् । अस्पतालले दिँदै आएको नियमित भत्ता कटौती गरेपछि उनीहरू आन्दोलित भएका हुन् । उनीहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न अग्रपङ्क्तिमा खटिएका चिकित्सक, नर्सलगायत कर्मचारीहरूको तलब कटौती गरिनु निन्दनीय भएको बताएका छन् ।
अस्पताल प्रशासनले गएको असार ५ गते सूचना जारी गर्दै अस्पतालको आम्दानी अत्यन्त न्यून भएकोले कर्मचारीहरुलाई नियमित भत्ताबाहेक आधारभूत तलबसहित अन्य सुविधामात्रै दिन सकिने जनाएको थियो । प्रशासनले उक्त सूचना निकालेपछि चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले प्रशासनको उक्त कदमको विरोध गरेका छन् ।
नियमित भत्ता कटौती गर्नुअघि स्वास्थ्यकर्मी तथा कर्मचारीसँग बसेर यस महामारीको बेला के कसरी व्यवस्थापन गर्नेबारे छलफल गर्नुपर्ने चिकित्सकहरूको माग रहेको छ । तर अस्पताल प्रशासनले एकतर्फी निर्णय लाद्नु अन्याय भएको कर्मचारीले बताएका छन् । भत्ता उपलब्ध गराउनुपर्ने माग गर्दा उल्टै जागिर खाइदिने धम्की दिएको र डरत्रास देखाएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई भेटेर हिजो ज्ञापनपत्र बुझाएका छन् ।
मा प्रकाशित