वैदेशिक रोजगारीमा सोचेजति असर नपरेको अर्थमन्त्रीको दाबी – Kanika Khabar
Friday, April 26Nepali News Portal

वैदेशिक रोजगारीमा सोचेजति असर नपरेको अर्थमन्त्रीको दाबी

    मा प्रकाशित

कनिका संवाददाता
असार १५, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा सोचेजति असर नपरेको भन्दै यो नेपाली अर्थतन्त्रका लागि सकारात्मक भएको बताउनुभएको छ । आज नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई भिडियो सम्बोधन गर्दै मन्त्री खतिवडाले कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा रहेका धेरै नेपाली समस्यामा पर्ने अनुमान गरिए पनि क्रमशः आर्थिक क्रियाकलाप सञ्चालन हुँदै जाँदा रोजगारीको समेत सुनिश्चितता भइरहेको बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारीमा समस्यामा परेर स्वदेश फर्किने नेपालीको संख्या अनुमान गरे भन्दा कम हुने पनि बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले जेठ महिनामा भित्रिएको एक खर्ब हाराहारी रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिती र बैंकमा पर्याप्त तरलता प्रदान गरेको पनि बताउनुभयो । पछिल्लो समय विदेशबाट नेपाली कामदारको माग बढेको र नेपाली युवा पनि जान इच्छुक देखिएपछि सुरक्षा प्रबन्ध अपनाएर पठाउन थालिएको उहाँले जानकारी दिनुभयो । अर्थमन्त्री डा. खतिवडाले बैंकको ब्याजदरसमेत अब घट्ने बताउनुभयो । मौद्रिक नीतिबाट यससम्बन्धी व्यवस्था गर्ने उहाँले संकेत गर्नुभयो ।

नेपालमा आर्थिक क्रियाकलाप सबैभन्दा बढी हुने समयमा कोरोनाले प्रभाव पारेको भन्दै मन्त्री खतिवडाले बन्दाबन्दी खुकुलो भएसँगै अर्थतन्त्र पुरानै लयमा फर्कन थालेको दावी गर्नुभयो । सरकारी राजस्व र खर्चमा केही सकुंचन आए पनि क्रमशः त्यसले आफ्नो लय समात्न थालेको उहाँको भनाइ छ । वैदेशिक व्यापार र राजस्व संकलनमा ८० प्रतिशत सुधार देखिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्