कनिका संवाददाता
असार १५, कपिलवस्तु ।
कपिलवस्तुको तीन ओटा नगरपालिकामा सलहको ठूला झुण्ड फेला परेका छन् । जिल्लाको बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको हो । हिजो अपराह्न करिब आठ देखि १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड कपिलवस्तुमा प्रवेश गरेको विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
नयाँ समूह जंगलमा बसेको प्रवक्ता सुवेदीको भनाइ छ । करिब २० घण्टासम्म एकै ठाउँमा बसेको सलहको झुण्ड नेपालमा भेटिएको मध्ये सबैभन्दा ठूलो भएको सुवेदीले दाबी गर्नुभयो । नेपालमा शनिबार देखि सलहको झुण्ड नेपालका प्रवेश गर्ने क्रम सुरु भएको थियो । सरकारले भारतका विभिन्न भागमा बालीनाली नष्ट गर्दै आएका सलह साना–साना झुण्डमा छुट्टिएर नेपाल प्रवेश गरेको बताउँदै आएको थियो । अब ठूलो झुण्ड पनि नेपाल आउन थालेको पाइएको छ ।