कोरोना जितेर सेवामा फर्किए वडाध्यक्ष – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोना जितेर सेवामा फर्किए वडाध्यक्ष

    मा प्रकाशित

कनिका खबर
असार १८, दाङ ।


कोरोनाबाट सङ्क्रमित भएपछि कोरोनासँगको युद्ध जितेर दाङका एक वडाध्यक्ष नियमित कार्यमा फर्केका छन् । घोराही उपमहानगर पालिका वडा नंं. २ का वडाध्यक्ष केशवराज आचार्य हिजोदेखि नियमित लयमा फर्किएका हुन् । असार ८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा वडाध्यक्ष आचार्यको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
विश्व कोभिड १९ को सङ्क्रमणबाट कसरी सुरक्षित रहने भन्ने सतर्कतामा छ । यतिबेला कोरोना सङ्क्रमणबाट सबैलाई सुरक्षित राख्नका लागि सम्बन्धित निकाय निकै जिम्मेवारपूर्वक लागिपरेका छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी यतिबेला फ्रन्टलाइनमा रहेर सेवामा खटेका छन् । त्यसो त जनप्रतिनिधि झन् स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको समेत भूमिका निर्वाह गर्दै सेवामा अहोरात्र खटिरहेका छन् । जनप्रतिनिधि पनि यतिबेला कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् ।
गत असार ८ गते कोरोना सङ्क्रमणको रिपोर्ट आउँदा वडाध्यक्ष आचार्यको स्वाब सङ्कलन गरेको १६ दिन बितिसकेको थियो । स्वाब सङ्कलन गरेको १६ दिनपछि उनको रिपोर्ट आएको थियो । १६ दिन पछि रिपोर्ट आउँदा एक प्रकारले उनी निको भइसकेका थिए । उनले भने,‘ पहिला त मलाई विश्वास नै लागेन किनकि कोरोनाको कुनै लक्षण मलाई महसुस भएन । तर, विज्ञानले प्रमाणित गरिसकेको कुरा थियो मान्नै प¥यो ।’


रिपोर्टले कोरोना पुष्टि गरेपछि उनी होम आइसोलेसनमै बसे । कुनै स्वास्थ्य आइसोलेसनमा उनी गएनन् । कतिपय आफूमा भएको कोरोना पुष्टि लुकाउन चाहन्छन् तर उनले आफै सार्वजनिक गरे । यस सन्दर्भमा उनले भने, ‘ हामीमा कोरोना पुष्टि भए किन लुकाउने, कुनै अपराध गरेको होइन, कुनै नराम्रो काम गरेर सरेको होइन अनि किन लुकाउने ?’ उनले थपे हामीले सुरक्षा सतर्कता अपनाएर नियम पालन गरेर बस्ने हो, आफूमा भएको पुष्टि सार्वजनिक गर्दा कन्ट्रयाक्ट ट्रेसिङ गर्न सजिलो हुन्छ ।’
कोरोना पुष्टि भएपछि उनी हतोत्साहित भएनन् झन आत्मबल बढ्दै गयो । आत्मबल बढ्नुको कारणबारे स्पष्ट पार्दै उनी भन्छन्, ‘मेरो रिपोर्ट तत्कालको थिएन, १६ दिन अघिको थियो, मलाई कोरोना पुष्टि हुँदा मलाई कोरोना सङ्क्रमण भएको १६ दिन बढी भइसकेको थियो । सायद रिपोर्ट आउँदा म निको भइसकेको थिएँ, त्यसकारण पनि मभित्र आत्मविश्वास बढ्यो ।’
उनी सात दिनसम्म घरमा नै सुरक्षित रहेर बसे । आफूसँग सम्पर्कमा आएका सबैको पिसिआर परीक्षण गराउनमा सहयोग गरे । उनी भन्छन्, ‘म घरमै बसेँ, परिवारका सबै सदस्यसँग घुलमिल भए, सबैको पिसिआर परीक्षण गराउन पहल गरेँ, सबैको रिपोर्ट निगेटिभ आयो, ममा पनि कुनै लक्षण देखिएनन् ।’
हिजोदेखि उनी कार्यालयको नियमित काममा फर्केका छन् । जनसेवामा जुटेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्