घोराही उपमहानगरपालिका अन्तर्गतका विद्यालय असोज ८ र ९ गते बन्द – Kanika Khabar
Thursday, September 24Nepali News Portal

घोराही उपमहानगरपालिका अन्तर्गतका विद्यालय असोज ८ र ९ गते बन्द

    मा प्रकाशित

घोराही, दाङ । घोराही उपमहानगरपालिकाले विपद्को जोखिमलाई मध्यनजर गर्दै असोज ८ र ९ गते विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ।

नगर कार्यपालिकाको कार्यालयले सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई जारी गरेको सूचनामा शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारबाट जारी सार्वजनिक सूचनालाई आधार बनाउँदै विद्यालय बन्द गर्न भनिएको हो।

सूचनाअनुसार असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारी वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङ पर्ने सम्भावना रहेको जानकारी जल तथा मौसम विज्ञान विभागअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त भएको उल्लेख छ।

सम्भावित विपद्का कारण बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै विद्यालय तहमा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

उपमहानगरपालिकाले सबै विद्यार्थी एवं बालबालिकाको शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी असोज ८ र ९ गते विद्यालयहरू बिदा गर्न/गराउन निर्देशन दिएको छ।

त्यस्तै, विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा सम्बन्धित निकायसँग निरन्तर समन्वय र सहजीकरण गर्न पनि विद्यालयहरूलाई अनुरोध गरिएको छ।

उपमहानगरपालिकाले अभिभावकहरूलाई समेत आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन आग्रह गरेको छ।

नगरपालिकाले विपद्को सम्भावित जोखिमबाट विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सबै विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्