कनिका संवाददाता
असार १८, काठामाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकता गम्भीर संकटमा परेको निष्कर्ष निकालेको छ । पार्टी एकता गम्भीर संकटमा परेको निष्कर्ष निकाल्दै बालुवाटारमा जारी स्थायी कमिटी बैठक आगामी शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको नेकपाले जनाएको हो ।
भोलि वा पर्सिसम्म दुई अध्यक्ष र शीर्ष नेताबीच छलफल गर्नका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेताबीच तत्काल मन्त्रिपरिषद् बैठक नबोलाउने र संसदको चालू अधिवेशन अन्त्य नगर्ने समझदारी भए पनि प्रधानमन्त्री ओली उक्त समझदारी विपरित गएपछि नेताबीच थप छलफलका लागि बैठक स्थगित भएको उहाँको भनाइ छ । संसदको चालू अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फेरि ल्याउने संकेत गरेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नुभएको थियो ।
प्रचण्डले राष्ट्रपति भण्डारीलाई उक्त अध्यादेश आएमा जारी नगर्न सुझाएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । जवाफमा राष्ट्रपति भण्डारीले आफूसमक्ष त्यस्तो कुनै अध्यादेश नआएको बताउनुभएको थियो ।