नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई पार्टीबाट निलम्बन गर्नुपर्छ : महामन्त्री थापा – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई पार्टीबाट निलम्बन गर्नुपर्छ : महामन्त्री थापा

    मा प्रकाशित
दाङ, २ जेठ ।
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार तथा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै महामन्त्री थापाले नक्कली शरणार्थी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका पदाधिकारीलाई निलम्बन गर्नुपर्ने माग गरेका हुन् ।
भ्रष्टाचार विरुद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे गगन थापाको धारणा
नेपाली जनताको बलिदानीपूर्ण संघर्षका कारण युगान्तकारी राजनीतिक परिवर्तन त भए, तर नेपाली जनताको अपेक्षा अनुसार आर्थिक विकास, सामाजिक रुपान्तरण र सुशासनको प्रत्याभूति हुन सकेको छैन । यस्तो किन हुन सकेन ? आम जनताको प्रश्न छ । यसको एउटा प्रमुख कारण भ्रष्टाचार र कुशासन नै हो । विगत लामो समयदेखि हाम्रो शासकीय संरचनामा प्रवृत्ति कै रुपमा जरो गाडेर बसेको भ्रष्टाचार र कुशासनले गर्दा सरकार, राजनीतिक दल, राजनीतिकर्मी, नीति निर्माता, कर्मचारीतन्त्र लगायत राज्यका निकायप्रति व्यापक असन्तुष्टि, आक्रोश र वितृष्णा छ ।
यस्तो प्रवृत्ति विरुद्ध पछिल्ला दिनमा नागरिक तहमा प्रतिरोध प्रारम्भ भएको छ, जुन जायज र स्वभाविक छ । यसका विरुद्ध भइरहेका तमाम नागरिक आन्दोलन र अभियानप्रति ऐक्यबद्धता प्रकट गर्दछु । अब कुनै पनि व्यक्ति, समुह वा राजनीतिक दल कि यो प्रतिरोधमा नागरिकका साथ उभिनुपर्छ कि भ्रष्टहरूको समर्थनमा, बीचको बाटो कसैसँग पनि छैन।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने पछिल्लो प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो र भ्रष्टाचारको संगठित प्रवृत्ति’ उजागर भएको छ । यो प्रकरण सबैको मापन गर्ने विषय बनेको छ-हामी कुन प्रवृत्तिको पक्षपोषण गर्न उभिन्छौं? हामी कस्तो समाज र संस्कृति निर्माण गर्न चाहान्छौं? मैले यस विषयमा विभिन्न संचार माध्यमलगायत संसदको समेत ध्यानाकर्षण गराइसकेको भए पनि केही कुरा दोहोर्याउन सान्दर्भिक ठानेको छुः
१. नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने प्रकरण ठगीको विषय मात्र होइन यो संगठित अपराध हो, मानव बेचबिखन हो । यो नेपाली नागरिकको अनादर मात्र होइन देशद्रोह नै हो । तसर्थ, यस्तो जघन्य अपराधमा संलग्न जो कोही हुन्, हदैसम्मको सजायका भागिदार छन् ।
२. हालसम्म यस प्रकरणमा सरकार र नेपाल प्रहरीले गरेको प्रयास प्रशंसनीय छ । अपराधमा संलग्न जोसुकै हुन, जुनसुकै परिवार, पद र पार्टीका किन नहुन्, निष्पक्ष छानबिन हुनुपर्छ । कुनै पनि बहानामा अनुसन्धान प्रकियामा अवरोध, ढिलासुस्ती, दवाव वा प्रभाव पारिनु हुँदैन । पर्दा पछाडिबाट त्यस्तो दुष्प्रयास गर्नेहरूको भण्डाफोर गर्नुपर्छ ।
३. विधिको शासन र कानूनको दृष्टिमा सबै नागरिकहरू समान हुन्छन् । अपराधमा संलग्न भैसकेपछि अपराधको दल, वर्ण, जात, लिङ्ग वा समुदाय हुँदैन, हुनुहुँदैन । दोषी छ भने जस्तोसुकै शक्तिशाली र प्रभावशालीले पनि उन्मुक्ति पाउनु हुँदैन; तर निर्दोष छ भने अन्यायमा पनि पर्नु हुँदैन । अनुसन्धानको स्वतन्त्र र स्वभाविक दिशाले निर्दिष्ट गरेको अन्तिम विन्दुसम्मै अनुसन्धान हुनुपर्छ ।
४. विधिको शासनको स्थापित मान्यता र अभ्यास अनुसार फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि उक्त व्यक्ति सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुन्छ, हुनुपर्छ । पदमा भएको व्यक्तिले आफूलाई त्यसबाट अलग राख्नुपर्छ अन्यथा सम्बन्धित निकायले अलग गराएर स्वतन्त्र अनुसन्धानको मार्ग प्रसस्त गर्नुपर्छ । अनुसन्धानबाट निर्दोष साबित भए पुनर्स्थापना हुन्छ नै । यो कानूनीमात्र होइन न्यूनतम नैतिक विषय पनि हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा यो नै नेपाली कांग्रेस पार्टीको धारणा हो । नेपाली कांग्रेस पार्टीका लाखौं आम सदस्यहरूको धारणा हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय हो । पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन । पार्टीको तर्फबाट हामीले भन्ने यतिमात्र हो- अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ । दोषी र निर्दोष छुट्टयाउने कानूनी प्रक्रियाबाट हो । यति गम्भिर आरोप लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वत: पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ । पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा मैले यो विचार राखेको छु । पार्टीभित्र, बाहिर, औपचारिक, अनौपचारिक बैठक सबैमा हिजो पनि,आज पनि र भोली पनि मेरो धारणा यही नै रहनेछ । पार्टीका कतिपय साथीहरूबाट नेपाली कांग्रेसको यस्तो परम्परा नभएको भन्ने विचार पनि आएका छन् । यसमा पनि म प्रष्ट छु- गलत परम्परा तोडिनु पर्छ । परम्पराका नाममा घातक प्रवृत्तिलाई पार्टीले बोक्न सक्दैन, बोक्नु हुँदैन । मेरो यो विचारलाई पार्टीको विचार बनाउन म निरन्तर लागेको छु, लागिरहनेछु ।
अत: हामी कांग्रेस प्रष्ट हुनुपर्छः-
१. नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस र यस पार्टीसँग आबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउने हो, आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानून बमोजिमको सजाय पाउनै पर्छ । जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने कुरा स्वभाविक हो र पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्छ । परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने, र पार्टीको कुनै पनि तह,पद वा सांगठनिक संरचनालाई दुरुपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनु पर्छ ।
२. नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होइन, अख्तियारको दुरूपयोग, भ्रष्टाचार, आर्थिक अनियमितता, सार्वजनिक पदको दुरुपयोग जस्ता विगतमा भएका अन्य मुद्दाहरूको पनि निष्पक्ष अनुसन्धान र छानबिन गरी दोषीलाई कारवाही गर्न र सुशासन कायम गर्न दृढतापूर्वक नेपाली कांग्रेसले नेतृत्व लिनुपर्छ ।
३. भ्रष्टाचारको एउटा महत्वपूर्ण कारण र आधार नीतिगत भ्रष्टाचार बनेको छ । नीतिगत विषयमा ठूला र शक्तिशाली भ्रष्टाचारका कार्य भइरहेका प्रसंग उठेका छन् । त्यसैले, विगतमा नीतिगत निर्णयका नाममा तामेलीमा रहेका वा अनुसन्धानको दायरामा नआएका भ्रष्टाचारका विषयहरू समेत अनुसन्धानको दायरामा ल्याउनु पर्छ । भ्रष्टाचार सम्बन्धी कसुरमा हदम्याद हटाउनु पर्छ । यसका निम्ति संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार सम्बन्धी दुईवटा ऐन संशोधन विधेयक विचाराधीन छन् । हामी नेपाली कांग्रेसका सांसदहरूले यी विषयलाई संशोधनमा राखेका छौं । यी विषय लगायत भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानूनी, संरचनागत र संस्थागत सुधार गर्ने जुन वातावरण ऐले बनेको छ, त्यसको नेतृत्व र अग्रसरता कांग्रेसले नै लिनुपर्छ ।
अन्त्यमा, अनुहारमा दाग लागेपछि ऐना जतिपटक पुछे पनि अनुहारको दाग पुछिँदैन, अनुहारकै दाग पुछ्नु पर्छ । त्यसका लागि पार्टीभित्र शुद्धीकरणको अपरिहार्यतालाई बोध गर्दै पार्टीका प्रत्येक सदस्यले दृढ संकल्प गर्ने बेला आएको छ । सुशासन र सदाचार नै समुन्नत नेपाल निर्माणको आधारशिला हुन् । त्यसैले तिनको पक्षमा दृढतापूर्वक उभिन र जहाँ हुनुहुन्छ त्यहीबाट भ्रष्टाचार र कुशासनका विरुद्धमा पार्टीभित्र र बाहिर आवाज उठाउन, दवाब दिन र खबरदारी गर्न पार्टीका सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु । जय नेपाल!
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्