मदन भण्डारीले ‘जबज’ सिद्धान्त पार्टीमा ल्याउँदा धेरै जसो नेता डराएका थिए : महासचिव पोख्रेल – Kanika Khabar
Friday, March 29Nepali News Portal

मदन भण्डारीले ‘जबज’ सिद्धान्त पार्टीमा ल्याउँदा धेरै जसो नेता डराएका थिए : महासचिव पोख्रेल

    मा प्रकाशित

दाङ, ३ जेठ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्त प्रतिवाद गरी पार्टीमा ल्याउँदा सो प्रस्तावको बारेमा खुल्न धेरै जसो नेता डराएको स्मरण गराएका छन् ।
सामाजिक सञ्जालमा ‘मदनसँग म’ भन्दै धारणा सार्वजनिक गर्दै महासचिव पोख्रेलले मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्त प्रतिवाद गरी पार्टीमा ल्याउँदा सो प्रस्तावको बारेमा खुल्न धेरै जसो नेता डराएको स्मरण गराएका हुन् ।

यसरी सम्झिए पोख्रेलले भण्डारीलाई

पाँचौ राष्ट्रिय महाधिवेशनको समय थियो । महाधिवेशनको प्रचारप्रसार कमिटीको संयोजक भरतमोहन अधिकारी र त्यसको सचिव म थिए । महाधिवेशनको अपिल प्रकाशित गर्ने जिम्मेवारी समेत उक्त समितिलाई दिइएको थियो । विचारको खुला बहस सञ्चालन गरिएको उक्त महाधिवेशनको अपिल विशेष हुनुपर्ने आग्रहका साथ मैले मदन कमरेडलाई लेख्न अनुरोध गर्ने प्रस्ताव भरतमोहन कमरेडसँग राखेको थिए । भरतमोहन कमरेडले त्यसमा सहमति जनाउँदै मदनसँग कुरागर्ने जिम्मेवारी मलाई नै सुम्पनु भयो । म वडो उत्साहकासाथ उहाँ वस्ने गरेको डेरामा पुगेर लेख्न अनुरोध गर्दा उहाँले तपाईहरु जस्ता साथीहरुलाई जिम्मा लगाएको के अर्थ भयो र भन्दै लेख्न अस्विकार गर्नु भयो । उहाँले म अहिले दस्तावेज माथिको बहसको तयारीमा छु र प्राप्त सुझावका आधारमा परिमार्जन समेत गर्नुपर्नेछ भन्नु भो । अनि उहाँले तपाई आफैले लेख्नुहोस् । बरु प्रकाशन गर्नुपूर्व मलाई देखाउनुहोस् भन्नु भयो । मैले पनि मदन कमरेडको सुझाव अनुरुप उत्साहकासाथ अपिलको मस्यौदा तयार गरेर उहाँलाई देखाए । उहाँले अपिल पढेर विना कुनै संशोधन प्रकाशनका लागि अनुमति दिनु भयो । विश्वास गरेर कामको जिम्मा दिने र त्यसप्रति खुलेर भरोसागर्ने उहाँको शैली बेजोड थियो ।
सोही महाधिवेशनका सन्दर्भको मदन कमरेडसँगको अर्को प्रसङ्ग पनि वढो रोचक छ । महाधिवेशनमा जनताको वहुदलीय जनवाद पार्टीको कार्यक्रमरुपमा प्रस्तावित थियो । पार्टी केन्द्रीय कमिटीमा अत्यन्त झिनो मतवाट उक्त कार्यक्रम छलफलको आधिकारिक दस्तावेज बन्न पुगेको थियो । पार्टीको संस्थापन पक्षका जिम्मेवार नेताहरुसमेत वहसका बेलासम्म खुलेर जबजका पक्षमा उभिन सक्नु भएको थिएन । पूर्वको विराटनगरदेखि खुला वहस आरम्भ गरिएको थियो । चितवनसम्म आइपुग्दा जबजका पक्षमा कार्यकर्ताको ठुलो पङ्क्ति पक्षमा देखिसकेको थियो । चितवनको वहसपछि माधव नेपाल जबजको पक्षमा खुल्न तयार हुनु भएछ । मदन कमरेडले माधव कमरेड जबजका पक्षमा खुलेर बोल्न तयार भएकोले काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गर्न लगाउनु भयो । उहाँको अनुरोधमा पद्मकन्या क्याम्पसमा विद्यार्थीहरुको भेला आयोजना गरेर माधवकुमार नेपाललाई बोल्ने लगाइएको थियो । सोही भेलामा पहिलो पटक माधव कमरेड खुलेर जबजका पक्षमा वोल्नु भएको थियो ।
पाँचौ राष्ट्रिय महाधिवेशनवाट जनताको वहुदलीय जनवाद अत्यधिक वहुमतका साथ नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रुपमा पारित भयो । पारित गराउने कुरामा समेत माधव कमरेडको सक्रियता विशेष रह्यो । जननेता मदन भण्डारीको अगुवाईमा प्रतिपादन भएको जनताको वहुदलिय जनवाद यतिवेला नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्त बन्न पुगेकोछ । सुरुको अवधिमा जबजको विचारले पार्टीभित्र समर्थन प्राप्त गर्न भएको त्यसप्रकारको कठिनाई भएको सम्झदा अनौठो अनुभूति हुन्छ ।
आज जेठ ३ गते जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको ३०औं स्मृति दिवस । स्मृति दिवसका अवसरमा जबजका प्रतिपादक तथा कम्युनिष्ट आन्दोलनका नविन विचारक जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धान्जली ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्