गृह जिल्लामै कमजोर मेटमणि – Kanika Khabar
Friday, April 19Nepali News Portal

गृह जिल्लामै कमजोर मेटमणि

    मा प्रकाशित

इन्द्र डि.सी
दाङ,६ जेठ ।

नेकपा एमालेमा हँुदा मेटमणि चौधरीसँग जोडेर कार्यकर्ताले एउटा भाष्य बनाएका थिए ‘मेटमणिले आफनै कार्यकर्ता संरक्षण र पार्टी निर्माण वा विस्तार गर्न सक्दैनन् ।’ सम्भवत पार्टी विभाजन भएको दुई वर्षपछि उनीमा प्रयोग हुने त्यो भाष्य सावित भएको छ ।’

मेटमणि चौधरी एमालेबाट उदाएका नेता हुन् । हाल उनी एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा आबद्ध छन् । मेटमणि २०४५ देखि एमालेमा आबद्ध बनेका थिए । २०७१ सालमा नवौं राष्ट्रिय महाधिवेशनपछि एमालेको केन्द्रीय सदस्यमा चुनिएर दाङको पार्टी इन्चार्ज भएर काम समेत गरेका थिए । २०७८ भदौमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (समाजवादी) पार्टी गठन गरेसँगै नेता चौधरी नयाँ पार्टीमै उभिएका थिए ।

उनको साथ लागेर जिल्लाका पुराना र स्थापित नेताहरुपनि माधव नेपालतिर नै लागे । तत्तकालिन एमालेका पोलिटव्यूरो सदस्य भागवत विश्वासी, जिल्ला सचिव हिराचन्द्र केसी, सहसचिव सुरामणि वेल्वासे, पूर्व जिल्ला अध्यक्ष जोगबहादुर राना, अनारकली मियाँ, मिना गुरुङ, शारदा स्वर्णकारलगायतका नेताहरु नेकपा एसमा लागेका थिए । पार्टी विभाजन भएपछि पार्टी निर्माण भन्दा यो समुहले चिया पसलदेखि सभामा एमाले र नेताहरुलाई धारे हात लगाउने काम नै गरे ।

पार्टी विभाजनसँगै नेकपा एस दाङको नेतृत्व सुरामणि वेल्वासेले लिए भने विश्वासी पार्टीको केन्द्रीय सचिव नै भए । केसी केन्द्रीय सदस्य भए भने नेता चौधरी पार्टीको पोलिटव्यूरो सदस्यसँगै २०७९ मंसिरमा भएको चुनावमा गठबन्धनको साझा उम्मेदवार भएर दाङ क्षेत्र न १ बाट चुनाव जितेर फेरी सांसद छन् । नेता चौधरी पार्टीको संसदीय दलका नेता समेत हुन । पार्टी विभाजनमा नेता चौधरी ठुलै दलबलसहित नेकपा एसमा गएका थिए । यो दुई वर्षमा नेता चौधरीको साथ धेरै सहकर्मीले छोडेका छन् ।

चौधरीका सवैभन्दा विश्वासीला भनेर चिनिने सुरामणि बेल्वासेले उनको साथ छोडेका छन् । बेल्वासे पुन एमालेमा प्रवेश गरेका छन् । दिनरात खटेर चुनाव जिताएका लमही क्षेत्रका धेरै नेता तथा कार्यकर्ताले पनि यो विचमा चौधरीको साथ छोडेर पुरानै घर एमालेमा फर्केका छन् । केन्द्रीय सचिव विश्वासी, केन्द्रीय सदस्य केसी, जिल्ला अध्यक्ष बेलवासे, सचिव डिल्ली डाँगी, नेतृ शारदा स्वर्णकार लगायतका नेता तथा कार्यकर्ता पनि नेता चौधरीको साथ छोडदै शनिवार एमालेमा फकिएका छन् ।

एमाले महासचिव शंकर पोख्रेलले पुरानै घर एमालेमा उनीहरुलाई स्वागत गरेका थिए । पार्टी विभाजनमा साथ दिएका आफनैले एकपछि अर्को गर्दै छोडेपछि आकस्मीक रुपमा नेकपा एसले शुक्रवार जिल्ला भेला गरेको थियो । भेलाले जिल्लाको नयाँ नेतृत्व चयन गरेको छ । नेतृत्व लिएको नयाँ टिम संगठन निर्माण, परिचालन र योजना निर्माणमा ल्याकत राख्न सक्ने अवस्थाको छैन । पार्टी नै शिथिल भएको र सिनियर नेता नै पार्टी छोडेर एमालेमा फर्केपछि कार्यकतालाई रोकिराख्नको लागि त्यति आकर्षक प्याकेज ल्याउन सक्ने अवस्था छैन । नेता चौधरीमाथि दुईवटा भाष्य स्थापित छन् ।

एउटा कार्यकर्ता संरक्षण गर्न नसक्ने र अर्को पारदर्शिताको अभाव । दुवै भाष्यले नेता चौधरीलाई आफनै कार्यकर्ताबाट अलग्याउँदै गएको स्वंय उनकै पार्टीका नेताहरुले टिप्पणी गर्छन । ‘नेता बन्नलाई यी दुईवटै कुरा चाहिन्छ । तर उहाँसँग त्यो दुवै छैन’,एक नेताले भने,‘ त्यो भएर उहाँका अति विश्वासीलापात्रले समेत साथ छोडन बाध्य छन ।’ उनका अनुसार नेता वन्नको लागि योजना र भिजन अरु धेरै गुण चाहिन्छ । तर नेता चौधरीमा त्यसको पनि अभाव छ ।

‘सधै विद्रोही स्वभावले पार्टी निर्माण हुने रहेन छ । त्यो हामीले भोग्यौ । पार्टी विभाजनको औचित्य पनि यो समयमा स्थापित गर्न सकिएन’, उनले भने,‘ नेता कार्यकतामुखी भन्दा स्वार्थमुखी नै भएका छन, त्यो उहाँमा पनि त्यही नै देखा परेको छ ।’ तर नेता चौधरीले त्यो स्विकार गर्दैनन् । उनले पार्टीमा जोडिने र छुट्ने क्रम निरन्तर चल्ने बताए ।  ‘जुनसुकै पार्टीमा पनि आउने र जाने क्रम चलिरहेको हुन्छ । यसलाई अन्यथा लिनु हुँदैन’,नेता चौधरीले भने,‘बिचारका आधारमा छुट्निे राम्रो भएपनि अवसरका पछि लागेर पार्टीमा जोडिने र छोड्ने प्रवृति गलत हो । यहाँ पनि यही  भएको हो ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्