दाङमा जेठ ३० गते चलचित्र नृत्य प्रतियोगिता – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङमा जेठ ३० गते चलचित्र नृत्य प्रतियोगिता

    मा प्रकाशित

दाङ,२८ जेठ।

चलचित्र विकास बोर्डको आयोजनामा दाङमा जेठ ३० गते चलचित्र नृत्य प्रतियोगिता हुने भएको छ । दाङको घोराहीमा असार १ देखि ३गतेसम्म हुन थालेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको सन्दर्भ पारेर नृत्य प्रतियोगिता गर्न लागिएको बोर्डका प्रवक्ता एवं महोत्सव संयोजक केएल बुढाथोकीले बताएका छन् ।

संयोजक चलचित्र नृत्य प्रतियोगितामा विद्यालय तहका १८ वर्षका बालबालिका तथा किशोरकिशोरीले भाग लिन सक्नेछन् । चलचित्रका राष्ट्रियभावका वा शिष्ट गीतमा ८ देखि १२ जना सहभागी भएको र छात्र छात्राको संख्या बराबरी रहेको सामुहिक नृत्यलाई मात्र प्रतियोगितामा सहभागी गराउन सकिनेछ ।

प्रतियोगिताका लागि दाङ जिल्लास्थित २० विद्यालयले सहभागी जनाउने प्रतियोगिता संयोजक आदिम केसीले बताएका छन् । महोत्सवमा नेपाली चलचित्र क्षेत्रका सदाबहार नायक एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संगीतकार चेतन सापकोटा, नायिका झरना थापा, वरिष्ठ गायिका सत्यकला राई, नायक सबिन श्रेष्ठ लगायतका कलाकारहरु दाङ आउने भएका छन् ।

बोर्डका प्रवक्ता एवम् महोत्सवका संयोजक केएल बुढाथोकीका अनुसार नायक केसीले ‘बालबालिकासंग भुवन केसी’ कार्यक्रम मार्फत आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे अन्तरक्रिया गर्नेछन् ।

बालबालिका तथा किशोरकिशोरीहरुलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिकाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रथम बाल चलचित्र महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा चलचित्र प्रदर्शन, चलचित्र ज्ञान सम्बन्धी हाजिरीजवाफ, चलचित्र गीतमा नृत्य प्रतियोगिता, अभिनय प्रतियोगिता, ‘बालबालिकासंग भुवन केसी’,पुस्तक तथा फोटो प्रदर्शनी तथा अन्तर्किया कार्यक्रम आयोजना गरिने बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बताए । साथै महोत्सवमा स्थानीय समुदायका लोक नृत्य, झाँकी तथा साँस्कृतिक प्रस्तुति रहनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्