दाङ, ४ साउन ।
दाङमा एक वर्षको अवधिमा विपत्का घटनाहरूमा परेर २४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङकाअनुसार आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म ६ सय ११ वटा विपत्का घटनाहरूमा ३१ जना घाइते भएका छन् भने २४ जनाको मृत्यु भएको हो ।
सबैभन्दा धेरै बाढी तथा डुवानमा परेर १५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्त एवम् प्रहरी नायव उपरीक्षक राजन गौतमकाअनुसार बाढी तथा डुवानका ४ वटा घटनामा १५ जनाको मृत्यु भएको छ । आगलागीका७१ वटा घटनामा ४ जना, चट्याङबाट ४ जना र पहिरोबाट एक जनाको मृत्यु भएको छ । विपत्जन्य घटनामा आगलागीका ७१ वटा घटनाबाट १०जना, चट्याङका १३ घटनामा १ जना, बाढी तथा डुबानका ४ घटना, पहिरोका २७, अविरल वर्षा ४ सय १५ घटनामा १/१ जना घाइते भएको प्रहरीले जनाएको छ ।
साढे पाँच सय घरगोठमा क्षति विपत्का घटनाबाट एक वर्षको अवधिमा साढेपाँच सय घरगोठमा क्षति पुगेको छ । जसमा ५ सय ३३ घर तथा ४५ वटा घरगोेठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्कअनुसार गत वर्ष अविरल वर्षाका कारण ४ सय १० वटा घरगोठमा क्षति पुगेको छ । यसैगरी बाढी तथा डुवानका कारण ६७, आगलागीका कारण ६, चट्याङका कारण ६, पहिरोका कारण २६ र हावाहुरीका कारण एउटा गोठमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । विपत्का घटनामा १ सय १९ पशु चौपायको मृत्यु भएको छ भने ७ घाइते भएका छन् । आगलागीबाट ४३, चट्याङका कारण ५, बाढी तथा डुबानका कारण ६०, पहिरोका कारण ४ र अविरल वर्षाका कारण ७ वटा पशुचौपायको मृत्यु भएको छ ।
२४ करोडको क्षति
जिल्लामा एक वर्षको अवधिमा विपत्का घटनाबाट २४ करोड बढीको क्षति भएको छ । आर्थिक वर्ष २०७९÷०८० को असार मसान्तसम्म घटेका विपत्का ६ सय ११ वटा घटनामा २४ करोड ६८ लाख ६६ हजार ७ सय ३१ रूपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक गौतमले बताए ।
उनकाअनुसार सबैभन्दा धेरै आगलागीबाट १२ करोड ३८ लाख २९ हजार सात रूपैयाँ, अविरल वर्षाका कारण ९ करोड ३२ लाख ७६ हजार २४ रूपैयाँ, चट्याङका कारण दुई लाख ९० हजार सात सय, बाढी तथा डुबानका कारण १ करोड ७० लाख ४६ हजार, पहिरोका कारण १ करोड २३ लाख ७५ हजार र हावाहुरीका कारण ५० हजार बराबराको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विपत्का घटनाबाट तीन वटा सरकारी कार्यालय, ५ वटा सवारीसाधान, १२ वटा उद्योग तथा पसल र एउटा जेनेरेटरमा समेत क्षति हुन पुगेको प्रहरीले जानकारी दिएको छ ।


