दाङ, २७ भदाै ।
पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप सरकारले आज बुधबारदेखि वितरण गर्दैछ ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको शुरुवात गर्ने कार्यक्रम रहेको छ ।
यो खोप १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका किशोरीलाई दिइने छ । २०६५ साल भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने छन् ।
खोप वितरणका लागि सात प्रदेशका सात वटा अस्पताल तोकिएका छन् । बाग्मतीमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको भेरी अस्पताल बाँके र कर्णालीको प्रादेशिक अस्पताल सुर्खेतमा आजदेखि ३० गतेसम्म खोप लगाइने छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा आजदेखि पर्सि २९ गतेसम्म खोप लगाइने छ । कोशीको कोशी अस्पतालमा भने भोलिदेखि ३० गतेसम्म र मधेसको नारायणी अस्पतालमा पर्सि २९ गतेदेखि ३१ गतेसम्म लगाइने छ ।


