काठमाडौं , २८ भदाै ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्ने बताएका छन् ।
नेपाल चिकित्सक सङ्घको आज ज्ञापनपत्र बुझ्दै उनले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
आज बुधबार मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकहरू डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि सामूहिक कुटपिट भएपछि बिहीबार नेपाल चिकित्सक संघका प्रतिनिधिहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
संघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त घटनामा संलग्न भएकाहरुलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
बिहीबार नै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई समेत भेटेर दोषीलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको संघका प्रतिनिधिले प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेर ध्यानाकर्षण गराएका हुन् ।
बिरामीको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।


