बाँके, ५ असोज ।
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन । गएराति भएको झडपमा एक जनाको मृत्यु र १० जना घाइते भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभएको छ ।
झडपमा घाइते भएका अपहरण, शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेहरूको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यसअघि माघ अन्तिम साता दुई पक्षबीच झडप भएपछि सुधारगृहमा आगजनी र तोडफोड भएको थियो ।


