दाङ जिल्ला उवासंघ अधिवेशन : नेतृत्वलाई पाँच प्रश्न – Kanika Khabar
Monday, April 29Nepali News Portal

दाङ जिल्ला उवासंघ अधिवेशन : नेतृत्वलाई पाँच प्रश्न

    मा प्रकाशित

दाङ जिल्ला उद्योग वाणिज्य संघ यही असोज १३ गते अधिवेशनको तयारीमा जुटेको छ । विभिन्न प्रयासका बावजुद पनि सहमति कायम हुन सकेको छैन । परिणामतः व्यवसायीका नेता चुन्नका लागि दुई पक्षीय चुनावी प्यानल निर्वाचनको मैदानमा उत्रिएका छन् । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा वैद्य समूह लगायतको संयुक्त व्यवसायी प्यानल बनेको छ । जसको नेतृत्व गरेका छन् बसन्त जोशीले ।
त्यस्तै नेकपा एमाले, राप्रपा, नेकपा विप्लव र नेकपा मशाल निकटको समावेशी व्यावसायिक प्यानल बनेको छ । जसको नेतृत्व गरेका छन् रामप्रसाद पोख्रेलले ।
चुनावी सरगर्मीले व्यवसायीहरु तातेका छन् । व्यवसायीमा चुनावी चटारो देखिएको छ । यसैबिच दुवै प्यानलका नेतृत्वलाई चुनावी विषयमा केन्द्रित रहेर कनिका खबरले पाँच प्रश्न सोधेको छ । प्रस्तुत छ नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका जोशी र पोख्रेलसँग गरिएको कुराकानीको सारसंक्षेप । (सम्पादक)

बसन्त जोशी
अध्यक्षका उम्मेदवार
संयुक्त व्यवसायी प्यानल

तपाईंको उम्मेदवारी किन ?

व्यवसायीहरुको हकहित र अधिकार सुनिश्चित र संरक्षण गर्दै व्यवसायलाई समाजसँग जोड्न मेरो उम्मेदवारी हो । दाङ जिल्ला उद्योग वाणिज्य संघ २०२७ सालमा स्थापना भएर व्यसायीको हकहितका लागि सङ्घर्ष गर्दै आएको संस्था हो । संघको यहाँसम्मको इतिहासको आफ्नै गरिमा छ, संघले यहाँसम्म आइपुग्दा थुप्रै आरोह अवरोह छिचोल्दै व्यवसायी तथा उद्योग, व्यवसायको उन्नयनमा निकै महत्वपूर्ण काम गर्दै आएकमो छ । मेरो उम्मेदवारी संघको गरिमालाई संरक्षण गर्न, अझ उँचो बनाउन त हो नै त्यसका अतिरिक्त उद्योग, व्यवसायको उन्नयन तथा व्यवसायीसँगै रहेर दाङलाई औद्यागिक हव बनाउनका लागि पनि हो । धेरै काम भएको छ नै त्यसमा अझै केही नवीन काम र योजना थपी रचनात्मक, सिर्जनात्मक तथा उत्पादनमूलक कार्यका लागि मेरो उम्मेदवारी हो ।

तपाईंले नेतृत्व लिइरहँदा संस्थाको उन्न्यनका लागि तपाईले तर्जुमा गरेका योजना के हुन् ?

समस्या अहिलेसम्म हामीले व्यवसायीको मात्र हो भन्ने गरी व्याख्या गरिएको छ । तर, संस्थाको उन्नतिका लागि सामाजिक र अन्य बहुआयामिक वस्तुहरुको पनि भरोसा बनाउन सकियो भने संस्था गतिशील हुन्छ । दाङमा केही उद्योग छन् त्यसका अतिरिक्त अन्य व्यवसाय पनि सञ्चालन हुँदै आएका छन् । दाङमा हामीले आयात गरेर जसरी व्यापार चलाई रहेका छौँ, त्यसरी नै अब दिगो विकासका लागि निर्यातलाई बढाउन सक्नुपर्छ । दाङमा कृषि, पशुपालन, मत्स्यपालन, फलफुल खेतीलगायत साना घरेलु उद्योग तथा ठुला उद्योगको सम्भावना निकै छ । यिनै क्षेत्रमा चलिरहेका व्यापार, खेतीपाती तथा उद्योगलाई विस्तार गरेर दाङलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्न तीनवटै तहका सरकारसँग समन्वय तथा सहकार्य अबको आवश्यकता हो । यसलाई मैले अपरिहार्य ठानेको छु । दाङको उत्पादनलाई ब्रान्ड बनाउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारीकरणको व्यवस्थापनका योजना अबको आवश्यकता हो । अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने ? अब यो इच्छाशक्तिलाई ज्ञानशक्तिका माध्यमबाट क्रियाशक्तिमा बदल्न सक्नुपर्छ ।

आर्थिक मन्दीले थलिएका व्यवसायीका हकमा कस्ता योजना बनाउनुभएको छ ?

हेर्नुहोस्, अहिले व्यावसायिक कारोबार बढाउनेभन्दा गम्भीर कुरा आर्थिक सङ्कट गुज्रिरहँदा बैंकको ऋण होस् या व्यक्तिको ऋणबाट दिन प्रतिदिन व्यवसायबाट पलायन हुने क्रम जारी छ । यसबाट रोक्न र व्यवसायीलाई बचाउन संस्था नै अगाडि लागेर कानुनी र व्यवहारिक उपाय खोज्ने काम हुन्छ । आर्थिक मन्दीले थलिएका व्यवसायीका पक्षमा सहज वातावरण कायम गर्न लाग्नुपर्छ भन्ने मान्यताका साथ योजना बनाएको छु ।

नेतृत्वमा तपाईंलाई नै भोट किन ?

म २०५३ सालदेखि यसै क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएकाे छु । उद्योग वाणिज्य संघमा जब पहिलो पटक पहिलो पटक सदस्य र दोस्रो पटक उपाध्यक्ष आम मतदाताले बनाउनुभएको हो । त्यो बेला मैले विधिभित्र रहेर आम व्यवसायीको हकहितका लागि गरेका काम होस् या जिम्मेवारीमा हुँदा वा नहुँदा निरन्तर व्यवसायीसँगै बसेर मैले काम गरेको छु । यो व्यवसायीका सामु घाम जत्तिकै छर्लङ्ग छ । यही आम मतदाताले मलाई विश्वास गर्ने आधार हो ।

तपाईको जितका आधार के छन् ?

निरन्तर रुपमा व्यवसायीसँगै रहेर सुख दुःखमा साथ रहँदै आएको छु । म नेतृत्वको लागि तयार भइरहँदाको पहिलो आत्मविश्वास मेरा व्यवसायी मित्रहरु हुनुहुन्छ । म व्यवसायी मित्रको रोजाइ र चाहनामा परेको छु यतिबेला । यो उम्मेदवारी मेरो मात्र होइन आम व्यवसायीहरुको पनि हो ।

No photo description available.

रामप्रसाद पोख्रेल
अध्यक्षका उम्मेदवार
समावेशी व्यावसायिक प्यानल

तपाईंको उम्मेदवारी किन ?

लामो समयदेखि यही क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएको र आफूले व्यवसाय गरेको वस्तुगत संघको विभिन्न तहमा रहेर नेतृत्व निर्वाह पनि गरेको छु । यसैलाई निरन्तरता दिंदै दाङ जिल्ला उद्योग वाणिज्य संघको एक कार्यकाल कार्यकारी सदस्यको जिम्मेवारी र एक कार्यकाल वाणिज्य उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेको छु । संस्थामा जोडिएपछि संस्थाको गरिमा, व्यवसायीको हकहित र यहाँको विकासका बारेमा आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गरिसकेको हुँदा अब संस्थाको नेतृत्वमा रही अहिलेको संकटमा व्यवसायीको समस्या समाधान, व्यवसायीहरुको संस्थागत विकासका साथै यस क्षेत्रको विकासमा समेत महत्वपूर्ण निर्वाह गर्ने उद्देश्यका साथ मेरो उम्मेदवारी रहेको छ ।

तपाईंले नेतृत्व लिइरहँदा संस्थाको उन्न्यनका लागि तपाईले तर्जुमा गरेका योजना के हुन् ?

जबसम्म व्यवसायीको साझा संस्थाको क्षमता विकास हुन सक्दैन तबसम्म व्यवसायीको विकास हुन कठिन हुन्छ र त्यस क्षेत्रको स्थानीय आर्थिक विकास हुन कठिन हुन्छ । त्यसैगरी जुन क्षेत्रत्रमा सबल र सक्षम सामाजिक संघ संस्था हुन सक्दैनन् त्यस क्षेत्रको विकासले समेत तीव्रता पाउन सक्दैन । त्यसैले मेरो भस्मिका संघलाई अझ बढी समाजमा स्थापित, सबैको भरोसायुक्त सामाजिक संस्थाको रुपमा स्थापित गर्ने रहने छ । सबै व्यवसायीहरुको अपनत्व हुने गरी संस्थालाई स्थापित गर्न तर्फ लाग्ने छु । साँच्चि नै व्यवसायीमैत्री संस्थाको रुपमा विकास गर्दै व्यवसायिक केन्द्रको बनाउने र यहाँका व्यवसायिक, सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गरी अगाडि बढ्ने छु ।

आर्थिक मन्दीले थलिएका व्यवसायीका हकमा कस्ता योजना बनाउनुभएको छ ?

दुई पटकको काभिडको असरले यतिबेला देश नै आर्थिक मन्दीको चपेटामा परेको छ । अझ त्यसमाथि व्यावसायिक क्षेत्र त अत्यन्त प्रभावित भएको अवस्था हो । राज्यका निकायहरु यसप्रति संवेदनशील भएको पाइदैन । यतिबेला व्यवसायीलाई व्यवसायमा टिकाउने खालका रणनीति अवलम्वन गर्न आवश्यक रहेको छ । जसका लागि राज्यका विभिन्न निकायसँग सहकार्य र परामर्श गरी समस्या समाधान गर्न सकिन्छ ।

नेतृत्वमा तपाईंलाई नै भोट किन ?

संघका विभिन्न तहमा रहेर कार्य सम्पादन गरेको छु । जिम्मेवारीमा रहँदा नरहँदा सफलतापूर्वक कार्य सम्पन्न गरेको छु । अनुभवका आधारमा यस संघ र संघका सदस्यहरुको सुरक्षा र क्षमता विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने भएकाले मतदाताहरुले मलाई मतदान गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।

तपाईको जितका आधार के छन् ?

मैले मेरो उम्मेदवारीको पदमा जित्ने प्रशस्त आधार छन् । लामो समयदेखि संघको वस्तुगत संघ र दाङ जिल्ला उवासंघको विभिन्न पदीय दायित्वमा रहेर आफ्नो जिम्मेवारी पूरा गरेको सबै व्यवसायीहरुले बुझिरहनुभएको छ । जिम्मेवारीमा रहँदा मैले आफ्नो काममा भन्दा पनि व्यवसायीका समस्यामा निरन्तर लागिरहे, संघको दिगो विकासमा आफ्नो तर्फबाट कुनै कसर बाँकी राखेको छैन, यस क्षेत्रलाई व्यावसायिक केन्द्रका रुपमा विकास गर्न आवश्यक पूर्वाधार र स्थानीय आर्थिक विकासका लागि विशेष पहल गर्ने मेरो सोंच रहेको छ । व्यवसायिक सुरक्षा, विकास र एकता मेरो मूल मन्त्र हो । जसलाई आम व्यवसायीहरुले बुझ्नु भएको छ । जो मेरो जितका आधार हुन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्