घोराही, कार्तिक ३ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी, शिक्षक, विद्यार्थीहरुको सम्मलित शिक्षक–कर्मचारी समाज गठन गरिएको छ । आज प्रतिष्ठान प्राङ्गणमा भएको चिकित्सक, कर्मचारी, शिक्षक, विद्यार्थीहरुको भेलाले प्रतिष्ठानमा कार्यरत एमजिडिपि डा. उमाकान्त तिवारीको संयोजकत्वमा समाज गठन गरेको हो ।
प्रतिष्ठानका पदाधिकारीहरुलाई मानसिक तनाव दिई राजीनामा दिने वातावरण बनाईएको भन्दै अब आउने पदाधिकारी स्वच्छ, निष्पक्ष र संस्था बुझेको हुनुपर्ने संयोजक डा. तिवारीको भनाई छ । डा. तिवारी इमरजेन्सीको इन्चार्ज पनि हुन् । झण्डै एक सय बढी कर्मचारी, चिकित्सक, विद्यार्थी, शिक्षकहरुको भेलाले समाज गठन गर्दै आगामी दिनमा कमिटी विस्तार गर्ने निर्णय गरेका छन् । पदाधिकारी ल्याउदा पैसा खुवाएर ल्याउने प्रचलन रहेको भन्दै प्रतिष्ठानलाई विगारेर आफ्नो व्यक्तिगत पोस्ने व्यक्तिहरुलाई पदाधिकारी ल्याए कर्मचारी, चिकित्सकहरुले नमान्ने संयोजक तिवारीले चेतावानी दिए ।
प्रतिष्ठानका अहिलेका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, डिनले राम्रो काम गर्दा गर्दै रजिष्ट्रार, शिक्षाध्यक्ष विरुद्ध विना प्रमाणका उजुरी हालेर दुख दिने काम गरेको भन्दै उनले अव आउने पदाधिकारीले बाहिर क्लिनिक पोस्ने गरी काम गरे त्यो मान्य नहुने पनि बताए । अब नियुक्त हुने पदाधिकारीकै कारण प्रतिष्ठानमा चिकित्सक नरहने र भएका चिकित्सहरुलाई क्लिनिकमा जाँच गरीरहेको अवस्थामा भेटिए दङालीका लागि ठुलो दुर्भाग्य हुने बताए । सरकारी चिकित्सकलाई ल्याएर प्रतिष्ठानलाई बिगतकै जस्तै उपक्षेत्रीय अस्पताल बनाउने काम माफियाहरुले गर्न खोजेको आरोप लगाउदै डा. तिवारीले प्रतिष्ठानमा नै चिकित्सक भेटिने गरी सेवा प्रवाहमा लाग्ने अवस्था बनाउन अव नियुक्त हुने पदाधिकारी लाग्नुपर्ने बताए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका आइटी अफिसर हिरालाल भण्डारीले गरेका थिए ।


