काठमाडौँ, २३ कार्तिक ।
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भनिए पनि रिट स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण चौधरीको मुद्दा आज बिहीबारको पेशीमा स्थगितमा परेको हो ।
रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको सर्वोच्च अदालतले जनाएको छ । गोला तान्ने क्रममा रिट समूहको गोला कुनै पनि न्यायाधीशले नतानेपछि रिट स्थगितको सूचिमा परेको हो।
मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा चौधरीको जन्मकैदको सजाय मिनाहा गरिएको थियो । क्रुर, अमानवीय र गम्भीर मानव अधिकार उल्लङ्घनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ ।


