दाङ,२५ कात्तिक ।
दाङमा हातहतियार खरखजाना तथा कर्तव्य ज्यान कसुरमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उप-महानगरपालिका वडा नम्बर ५ बरलाबोट टोल बस्ने ५५ वर्षीया शेर बहादुर के.सी. रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यही कार्तिक २३ गते दिउसो ३ :३० बजेको समयमा जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं.०५ स्थित रहेको जनसेवा सामुदायिक वनमा मालुकाको पात टिप्न गएकाे बेला वडा नम्बर ७ हनरियाटोल बस्ने २८ वर्षीया जुगरू चौधरी मृत्त अवस्थामा फेला परेका थिए ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. ०५ बरलाबोट टोल बस्ने बर्ष ५५ को शेर बहादुर के.सी.ले भरुवा बन्दुकबाट गोली हानी निज जुगरू चौधरीको हत्या गरी तत्काल फरार रहेको खुलेपछि प्रहरीले केसीकाे खाेजतलास गरेकाे हाे ।
खाेजतलासकाे क्रममा आफ्नै घरमा लुकिछिपी बसेकाे अवस्तामा प्रहरीले हिजाे शुक्रबार केसीलाई पक्राउ गरेकाे हाे ।
केसीसँगै प्रहरीले एक थान भरुवा बन्दुक, १७८ थान छर्रा , १६६ ग्राम ७१० मिलिग्राम बारुद, सुतिको कपडाको टुक्रा (लत्ता ) ५ थान, रगत जस्तो रातो पदार्थ लागेको रातो रङको पछ्यौरा १ थान, तिर लेखेको सलाई २ थान, ६ थान केप समेत बरामद गरेकाे छ । उक्त सामग्री प्रहरीले जिल्लाकाे घोराही उपमहानगरपालिका वडा नं. ५ ठाँटीडाँडा वनको ठाँटी खोल्सामा रहेको ओडारभित्रबाट बरामद गरी नियन्त्रणमा लिएकाे हाे । केसीमाथि हातहतियार खरखजाना तथा कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


