कालीगण्डकीको वहावले सेतीबेनी क्षेत्र जलमग्न – Kanika Khabar
Friday, April 26Nepali News Portal

कालीगण्डकीको वहावले सेतीबेनी क्षेत्र जलमग्न

    मा प्रकाशित

कनिका संवाददाता
असार २६, पर्वत
कालीगण्डकीमा नदीमा पानीको सतह बढेपछि पर्वतको सेतबेनी बजार जलमग्न भएको छ । कालीगण्डकी नदीमा पानीको वहाव बढ्दै गएपछि बजार डुबानमा परेको स्थानीय दिनेश भुसालले जानकारी दिनुभएको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा भीषण वर्षा भएकाले उर्लिएको कालीगण्डकीले दिउँसो बाट सेतीबेनी स्थित शालिग्राम शिला परिक्रम स्थल ढाकेको छ भने तल्लोबजार क्षेत्रका केहि घर जलमग्न भएका छन् ।

कालीगण्डकी जलविद्युत आयोजनाको ड्याममा पानीको सतह बढ्दै गएपछि सेतीबेनी बजार डुवानमा परेको भुसालले बताउनुभयो । सेतीबेनी बजारलाई डुबानबाट बचाउन कालीगण्डकी ए जलबिद्युत केन्द्रको बाँधका सबै ढोका खोल्न पर्वत र स्याङजा प्रशासनले अनुरोध गरेको छ । जलबिद्युत केन्द्रमा ४२ ढोका रहेका छन । बाढीको खतरा भएपछि सबैढोका खोल्न निर्देशन दिइएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । कालीगण्डकी नदीका दुबै किनारमा कालीगण्डकी करिडोर लोकमार्ग निर्माण भैरहेको छ । कालीगण्डकी र सहायक नदी तथा खोलाहरुमा पनि सडकमा खनिएको ढुंगा, बालुवा र माटो यही जलासयमा आएर भरिने थुप्रिने भएकाले थप जोखिम बढेको छ । स्याङजा तर्फ आँधीखोलामा बालुवाको टापु नै बनेको स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताउनुभयो । वर्षाका कारण नदिमा बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दाहरू लाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । म्याग्दी बाग्लुङ र पर्वत जिल्लाका प्रशासन कार्यालयले कालीगण्डकीको सतह बढेपछि तटीय क्षेत्र, नदी आसपासका क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेका छन् ।

कालीगण्डकी नदीको किनारमा रहेका म्याग्दीको बेनी बजार , पर्वतको वारी बेनी बजार, पर्वतको मालढुंगामा रहेको माझी बस्ती , सेतीबेणी वजार लगायतका क्षेत्र उच्च जोखिममा परेका छन् । वर्षा रोकिएपनि राती थप वर्षा हुन सक्ने भएकाले कालीगण्डकी नदी तटिय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्