कनिका संवाददाता
असार २७, काठमाडौं
गएको बुधबार रातिदेखिको लगातारको वर्षा, बाढीपहिरोले अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा सभामुख अग्निप्रसाद सापकोटाले चासो देखाउनुभएको छ । तत्कालीन उपाय अपनाएर सडक सञ्चालनमा ल्याउन उहाँले सरोकारवालासँग छलफल गर्नुभएको हो । हिजो साँझ सडक सञ्चालनको तयारीबारे सभामुख सापकोटाले वागमती प्रदेशका सामाजिक विसकास मन्त्री युवराज दुलाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, जनप्रतिनिधि, जिल्लाका नेतालगायतसँग कुराकानी गर्नुभएको हो । भोटेकोसीको बाढीपछि बाह्रविसे नगरपालिकाको आधा भूगोल र भोटेकोसी गाउँपालिकाको पूरै भूभाग सडक सञ्जालबाट टुटेका कारण अवरुद्ध सडक खुलाउने बारेमा सभामुखले छलफल गर्नुभएको सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताउनुभयो । सछलफलमा वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले क्षति भएका स्थानमा अस्थायी बाटो बनाएर सडक सम्पर्क स्थापित गर्नुपर्ने धारणा राख्नुभएको थियो । बाढी र पहिरोका कारण अरनिको राजमार्गअन्तर्गत बाह्रविसे नगरपालिका र बलेफी गाउँपालिकाको सीमानामा पर्ने जुरेदेखि तातोपानीसम्मको बाटो अबरुद्ध छ । छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बाटो खुलाउने काम सुरु गरिसकिएको जानकारी दिँदै कामका सिलसिलामा स्थानीयस्तरमा आउनसक्ने अप्ठेरोमा सहजीकरण गरिदिन सचिव कार्कीले जनप्रतिनिधिहरुलाई आग्रह पनि गर्नुभयो । सडक विभागका महानिर्देशक केशव कुमार शर्माले अरनिको राजमार्ग अन्तर्गत जुरेदेखि तातोपानीसम्म ११ ठाउँमा ठूलो क्षति भएको जानकारी गराउनुभयो । खागदल, झ्याले र डाकलाङमा गरी कम्तिमा तीनवटा बेलिब्रिज बनाउनुपर्ने प्रारम्भिक प्रतिवेदन आएको र स्थलगत अवलोकनपछि विस्तृत विवरण आउने जानकारी गराउँदै महानिर्देशक शर्माले स्थानीय तहहरुसँग भएका स्काभेटरहरु प्रयोग गरेर अबरुद्ध बाटो खुलाउन विभागले प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
मा प्रकाशित