दाङ,२१ मंसिर ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनको अहिले बहसको विषय नभएको बताएका छन् । नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री शर्माले गठबन्धनका बारेमा बहस थाल्नु पर्ने समय अहिले नभएको बताएका हुन ।
अहिले निर्वाच्नको समयमा छैन चारबर्षपछि आउने निर्वाचनका लागि गठनबन्धन गर्ने नगर्ने विषयमा अहिले धाराण आवश्यक नरहेको बताए । ‘चुनावमा गठबन्धन गर्न हुन्छ कि हुँदैन भनेर अहिले बहस थाल्नु पर्ने बेला नै हैन,’ महामन्त्री शर्माले भने ‘अहिले बहस गर्नु पर्ने विषय भनेको संगठन मजबुतीको हो।’
चुनाव आउन अझै चार वर्षको अवधि रहेकाले अहिले नै गठबन्धनको बहस थालनी गरेर कुनै अर्थ नहुने भन्दै महामन्त्री शर्माले चुनाव ताका मात्रै यो विषयको बहस थालनी हुनुपर्ने बताए। यसर्थ गठबन्धनको बहसले पार्टीमा निर्णायक रूप लिने वा नलिने भन्ने विषय अहिले नै निक्र्यौल नहुने उनको भनाइ छ। ‘काँग्रेस लुम्बिनी प्रदेश सम्मेलनले पारित गरेको प्रस्ताव वा नेताहरुले गठबन्धनका बिषयमा राखेको धारणाले पार्टी भित्र निर्णायक रूप लिने भन्ने कुरा अहिले निक्र्यौल हुने विषय हैन,’ महामन्त्री शर्माले भने, ‘यो विषयको टुंगो लाग्ने अवधि पछि आउँछ, अहिले हैन।’ एक अर्को प्रसङ्गमा काँग्रेस महामन्त्री शर्माले वर्तमान गठबन्धनको सरकार ढाल्ने कसरत कहिँकतैबाट नभएको बताए।
वर्तमान सरकार ढाल्ने कसरत भएका हुन् कि भन्ने आशंका सुनिने गरेको भन्दै शर्माले यसलाई झुट भने। ‘अहिलेको सरकार ढाल्ने कसरत गठबन्धन भित्रबाटै भइरहेको छ भन्ने हल्लाहरू चलाइएका छन्, र एउटा कुरा सत्य के हो भने अहिलेको सरकार ढाल्नका लागि कुनै प्रयास वा पहल भएका छैनन्,’ उनले भने ‘र यो सरकारलाई ढाल्ने गरी कसरत हुने पनि छैनन्।’ वर्तमान नेतृत्वले गठबन्धन दलका बिचमा भएको पूर्ववत् सहमति अनुसार आफ्नो अवधि सम्म सरकार सञ्चालन गर्ने भन्दै महामन्त्री शर्माले आफ्नो अवधि पुरा भएपछि नयाँ प्रकृया थालनी हुने बताए। यसै गरी फरक अर्को प्रसङ्गमा एनसेल विक्री प्रकरणले धेरै आशङ्काहरू उब्जाएको बताए। फलतः यसको छानबिन अपरिहार्य रहेको महामन्त्री शर्माको भनाइ छ।


