यो उम्मेदवारी मेरो मात्र होइन आम व्यवसायीहरुको पनि हो : बस्नेत – Kanika Khabar
Sunday, May 19Nepali News Portal

यो उम्मेदवारी मेरो मात्र होइन आम व्यवसायीहरुको पनि हो : बस्नेत

    मा प्रकाशित

नारायणपुर उद्योग वाणिज्य संघ यही वैशाख २९ गते शनिबार अधिवेशनको तयारीमा जुटेको छ । विभिन्न प्रयासका बावजुद पनि सहमति कायम हुन सकेको छैन । परिणामतः चार पदमा व्यवसायीका नेता चुन्नका लागि दुई पक्षीय चुनावी प्यानल निर्वाचनको मैदानमा उत्रिएका छन् । यतिबेला चुनावी सरगर्मीले व्यवसायीहरु तातेका छन् । व्यवसायीमा चुनावी चटारो देखिएको छ । यसैबिच संयुक्त व्यवसायी प्यानलका नेतृत्वलाई चुनावी विषयमा केन्द्रित रहेर कनिका खबरले पाँच प्रश्न सोधेको छ । प्रस्तुत छ नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका अनिल बस्नेतसँग गरिएको कुराकानीको सारसंक्षेप । (सम्पादक)

तपाईंको उम्मेदवारी किन ?

व्यवसायीहरुको हकहित र अधिकार सुनिश्चित र संरक्षण गर्दै व्यवसायलाई समाजसँग जोड्न मेरो उम्मेदवारी हो । नारायणपुर उद्योग वाणिज्य संघ २०६० सालमा स्थापना भएर व्यसायीको हकहितका लागि सङ्घर्ष गर्दै आएको संस्था हो । संघको यहाँसम्मको इतिहासको आफ्नै गरिमा छ, संघले यहाँसम्म आइपुग्दा थुप्रै आरोह अवरोह छिचोल्दै व्यवसायी तथा उद्योग, व्यवसायको उन्नयनमा निकै महत्वपूर्ण काम गर्दै आएको छ । मेरो उम्मेदवारी संघको गरिमालाई संरक्षण गर्न, अझ उँचो बनाउन त हो नै त्यसका अतिरिक्त उद्योग, व्यवसायको उन्नयन तथा व्यवसायीसँगै रहेर नारायणपुर क्षेत्रलाई औद्यागिक हव बनाउनका लागि पनि हो । धेरै काम भएको छ नै त्यसमा अझै केही नवीन काम र योजना थपी रचनात्मक, सिर्जनात्मक तथा उत्पादनमूलक कार्यका लागि मेरो उम्मेदवारी हो ।

तपाईंले नेतृत्व लिइरहँदा संस्थाको उन्न्यनका लागि तपाईले तर्जुमा गरेका योजना के हुन् ?

समस्या अहिलेसम्म हामीले व्यवसायीको मात्र हो भन्ने गरी व्याख्या गरिएको छ । तर, संस्थाको उन्नतिका लागि सामाजिक र अन्य बहुआयामिक वस्तुहरुको पनि भरोसा बनाउन सकियो भने संस्था गतिशील हुन्छ । यस क्षेत्रमा केही उद्योग छन् त्यसका अतिरिक्त अन्य व्यवसाय पनि सञ्चालन हुँदै आएका छन् । यस क्षेत्र लगायत सिङ्गो दाङमा हामीले आयात गरेर जसरी व्यापार चलाई रहेका छौँ, त्यसरी नै अब दिगो विकासका लागि निर्यातलाई बढाउन सक्नुपर्छ । दाङमा कृषि, पशुपालन, मत्स्यपालन, फलफुल खेतीलगायत साना घरेलु उद्योग तथा ठुला उद्योगको सम्भावना निकै छ । यिनै क्षेत्रमा चलिरहेका व्यापार, खेतीपाती तथा उद्योगलाई विस्तार गरेर नारायणपुर क्षेत्र तथा दाङलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्न तीनवटै तहका सरकारसँग समन्वय तथा सहकार्य अबको आवश्यकता हो । यसलाई मैले अपरिहार्य ठानेको छु । यस क्षेत्रलगायत दाङको उत्पादनलाई ब्रान्ड बनाउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारीकरणको व्यवस्थापनका योजना अबको आवश्यकता हो । अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने ? अब यो इच्छाशक्तिलाई ज्ञानशक्तिका माध्यमबाट क्रियाशक्तिमा बदल्न सक्नुपर्छ ।

आर्थिक मन्दीले थलिएका व्यवसायीका हकमा कस्ता योजना बनाउनुभएको छ ?

हेर्नुहोस्, अहिले व्यावसायिक कारोबार बढाउनेभन्दा गम्भीर कुरा आर्थिक सङ्कट गुज्रिरहँदा बैंकको ऋण होस् या व्यक्तिको ऋणबाट दिन प्रतिदिन व्यवसायबाट पलायन हुने क्रम जारी छ । यसबाट रोक्न र व्यवसायीलाई बचाउन संस्था नै अगाडि लागेर कानुनी र व्यवहारिक र व्यापारिक रणनीतिक उपायहरु खोज्ने, समस्या पहिचान गर्ने तथा समस्या समाधानका लागि उपाय खोजी रणनीति तय गर्ने काम हुन्छ । आर्थिक मन्दीले थलिएका व्यवसायीका पक्षमा सहज वातावरण कायम गर्न लाग्नुपर्छ भन्ने मान्यताका साथ योजना बनाएको छु ।

नेतृत्वमा तपाईंलाई नै भोट किन ?

नारायणपुर उद्योग वाणिज्य संघमा जब पहिलो पटक पहिलो पटक सदस्य आम मतदाताले बनाउनुभएको हो, व्यवसायीहरुले बनाउनुभएको हो । त्यो बेला मैले विधिभित्र रहेर आम व्यवसायीको हकहितका लागि गरेका काम होस् या जिम्मेवारीमा हुँदा वा नहुँदा निरन्तर व्यवसायीसँगै बसेर मैले काम गरेको छु । यो व्यवसायीका सामु घाम जत्तिकै छर्लङ्ग छ । अझै पनि व्यवसायीका थुप्रै मुद्दाहरु छन् । ती मुद्दालाई किनारा लगाउन आवश्यक छ । यद्यपि ती मुद्दालाई यस अगाडिका नेतृत्वहरुले पनि उठाउँदै आउनुभएकने छ । कतिपय सम्बोधन भएका छन् त कतिपय पेन्डिङमा छन् । व्यवसायीले निर्धक्कसँग व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ, ढुक्कले लगानी लगाउने वातावरण सिर्जना हुनुपर्छ । उद्योगी व्यवसायीका सहज वातावरण सिर्जना गरी व्यवसाय सञ्चालनमा सहजता बनाउनका लागि मेरो उम्मेदवारी हो । यसका साथै नारायणपुर क्षेत्रलाई समृद्ध बनाउन, व्यवस्थित सुन्दर बजार निर्माण गर्न, यहाँका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्नका लागि तथा धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय क्षेत्रका रुपमा यस क्षेत्रलाई अगाडि बढाउन लागि पनि मेरो उम्मेदवारी रहेको छ । यो नै आम मतदाताले मलाई विश्वास गर्ने आधार हो ।

तपाईको जितका आधार के छन् ?

निरन्तर रुपमा व्यवसायीसँगै रहेर सुख दुःखमा साथ रहँदै आएको छु । म नेतृत्वको लागि तयार भइरहँदाको पहिलो आत्मविश्वास मेरा व्यवसायी मित्रहरु हुनुहुन्छ । म व्यवसायी मित्रको रोजाइ र चाहनामा परेको छु यतिबेला । यो उम्मेदवारी मेरो मात्र होइन आम व्यवसायीहरुको पनि हो । यस क्षेत्रलाई व्यावसायिक केन्द्रका रुपमा विकास गर्न आवश्यक पूर्वाधार र स्थानीय आर्थिक विकासका लागि विशेष पहल गर्ने मेरो तथा मेरो प्यानलको सोंच रहेको छ । व्यवसायिक सुरक्षा, विकास र एकता मेरो प्यानलको मूल मन्त्र हो । जसलाई आम व्यवसायीहरुले बुझ्नु भएको छ । जो मेरो तथा मेरो प्यानलको जितका आधार हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्