नेकपाको स्थायी कमिटी बैठक आज, विधिसम्मत हटाउन ओलीले दिए चुनौती – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेकपाको स्थायी कमिटी बैठक आज, विधिसम्मत हटाउन ओलीले दिए चुनौती

    मा प्रकाशित

कनिका खबर
साउन २, दाङ ।
पटक पटक मिति तय गर्दै स्थगन गर्दै आएको नेकपाको स्थायी कमिटीको बैठकको साइत आज फेरि जुरेको छ । असार १८ गतेदेखि लगातार स्थगित भएको बैठकको पछिल्लो साइत आज जुरेको हो । यसबीचमा भएका वार्ताहरूमा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमतिमा पुग्न नसकेपछि आज हुने भनिएको स्थायी कमिटी बैठकमा पनि दुई खेमा (ओली र प्रचण्ड–माधव) बीच विवाद झन् चर्किने सम्भावना बढेको छ ।
बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको छ । आजको बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने प्रचण्ड–माधव नेपाल समूहको अडान राख्ने तयारीमा छन् । तर, ओली पक्षले यसको कडा प्रतिवाद गर्ने तयारी गरेको छ ।

हिजो बिहीबार भएको वार्तामा दाहाल र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा गर्न दबाब दिएका थिए । प्रधानमन्त्री ओलीले यस्तो दवावले राजीनामा नदिने जवाफी फायर गर्दै विधिसम्मतरूपमा हटाउन चुनौती दिएका थिए ।

ओलीले राजीनामा नदिने अडानपछि दुबै पक्षले बिहीबार साँझ आआफ्ना समूहको बैठक राखेर रणनीति बनाएका छन् ।

आजको स्थायी कमिटी बैठकमा पनि ओलीको राजीनामा मागिने र सहमति नभएको सन्देश दिँदै केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिने ओलीइतरको समूहको तयारी छ ।

ओली समूहले भने एजेण्डाभन्दा बाहिरको विषयलाई छलफलमा ल्याएको भन्दै प्रतिवाद गर्ने र केन्द्रीय कमिटी बैठकमा आफ्नो पक्षमा माहोल बनाउन लागिपर्ने तयारी गरेको छ । त्यति हुँदा पनि नसके संसदीय दलको सामना गर्नेसम्मको तयारीमा ओली समूह जुटेको स्रोतको भनाइ छ ।

नेकपाको ९ सदस्यीय सचिवालय, हाल ४४ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ओली अल्पमतमा देखिएका छन् । ओली अल्पमतमा परेकाले पनि अर्को पक्षले उनलाई पार्टी र सरकारको कार्यकारी भूमिकाबाट हटाउने प्रयास गरेको हो ।

बहुमतबाट पक्ष हटाउने प्रयास गर्दा पार्टी फुटको संघारमा पुगेपछि नेताहरू पछि हटेका थिए । दुवै पक्ष आआफ्ना अडानमा कायम रहेपछि विवाद चर्किंदै जाने संकेत देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्