कनिका खबर
साउन ३, सिन्धुपाल्चोक
बागमती प्रदेश सरकरको विपद् व्यवस्थापन समितिले बाह्रबिसे नगरपालिकालाई ३० लाख, भोटेकोशी गाउँपालिकालाई १५ लाख र जुगल गाउँपालिकालाई १० लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ । बागमती प्रदेश सरकरको विपद् व्यवस्थापन समितिले बाढी पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका ३ स्थानीय तहलाई सहयोग गर्ने निर्णय गरेको हो ।
जिल्लाका विभिन्न स्थानीय तहहरूमा बाढी पहिरोबाट पीडित भएकाहरूलाई सहयोग गर्ने निर्णय गरिएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले जानकारी दिनुभयो । बाढी पहिरोमा घाइते भएर उपचार गराईरहेकाहरूको उपचारमा सहयोग पुर्याउन अस्पतालको बिल अनुसार अधिकतम प्रति घाइते २५ हजारसम्म उपचार खर्च बेहोर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ । यसअघि बागमती प्रदेश सरकारले मृतक परिवारलाई प्रति १ लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ ।
बाढी तथा पहिरोमा घर क्षति भएर प्रभावित परिवारलाई प्रदेश सरकारले आवासको व्यवस्था गर्ने निर्णय गरेको छ । सम्बन्धित स्थानीय तहले स्थान छनोट गरेपपछि विस्थापितको घर प्रदेश सरकारले निर्माण गरिदिने पनि मन्त्री नेपालले जानकारी दिनुभयो ।