दाङ, ५ भदौ ।
दाङको राजपुर गाउँपालिकामा रहेको माध्यामिक विद्यालय सिक्टाका शिक्षक बिष्णु खत्रीलाई पालिकाले दोस्रो पटक स्पष्टीकरण सोधेको छ । सामाजिक सञ्जालमा पालिका, पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतलाई गालीगलौच तथा अमर्यादित शब्द लेखेर बदनाम गरेको भन्दै पालिकाले शिक्षक खत्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
पालिकाले सोधेको स्पष्टीकरणको वेवास्ता गरेको भन्दै आज बुधबार पुनः पालिकाले स्पष्टीकरण सोधेको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिए ।
सजाय दिन नपर्ने कारण भए शिक्षक खत्रीलाई तीन दिनभित्र चित्त बुझ्दो जवाफ दिन समेत पालिकाले भनेको छ । पालिकाले नियुक्त गरेको निमित्त प्रधानाध्यापक भरत बहादुर बस्नेतलाई दैनिक कामकाजमा समेत अवरोध गरेको शिक्षा शाखाले जारी गरेको स्पष्टीकरण पत्रमा उल्लेख गरेको छ । पालिकाले शिक्षक खत्रीलाई भदौ २ गते स्पष्टीकरण सोधेको थियो ।