‘सहिद’ हुन नसकेका सहिदहरू–१ – Kanika Khabar
Monday, December 9Nepali News Portal

‘सहिद’ हुन नसकेका सहिदहरू–१

    मा प्रकाशित

डा. सुदीप गौतम

२०४७ साल जेठ १५ गते बिहानै घोराहीको बसपार्कनेर (हालको सभागृह नेर) एउटा भिड जम्मा भयो । त्यस भिडले घोराहीमा होटेल संचालन गरेर वसिरहेका एकजना धर्नालीका परिवारलाई खामामा बाँधेर पिटिरहेको थियो । भर्खरै बहुदल आएकोले नागरिकहरु सचेतमात्र होइन वढि उत्तेजित थिए भने प्रहरीको मनोबल खस्किएको थियो । तिस विषर्य पञ्चायति व्यवस्थाको अन्य भएको र वहुदलको अगमनवाट वाक स्वतन्ताको उपभोग गर्न पाएका नागरिकहरुमा राजनीतिक चेतना बढ्नु स्वभाविकै थियो ।

त्यही क्रममा केही दिनदेखि घोराहीमा चोरीका घटना वृद्धि भइरहेको ती घटनामा प्रहरीहरुको समेत संलग्नता रहेको, होटलवालाले सहयोग गरेको आदि इत्यादि कुराहरु गरेर घोराही बजारबासीहरु उत्तेजित भएर र्धजनली परीवारलाई पिटिरहेका थिए । चोरीको घटनामा त्यतिबेला दाङ दाङ प्रहरीमा कार्यरत सइ अन्सारी संलग्न भएको र उनले कुनै एक युवती प्रयोग गरेर चोरी गराउने आरोप भिडले लगाइरहेको थियो । चोरीको काण्डमा प्रहरीको संलग्नता पुष्टि भएको भन्दै बजारबासी प्रहरीप्रति अझ बढी आक्रोशित भएका थिए ।

जेठ १५ गते प्रहरीले भिडबाट पिटाइ खाइरहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर लगेर गएपछी प्रहरी र चोरीका घटनामा संलग्न सइ तथा उनले प्रयोग गरेकि युवतीलाई कारबाहीको माग गर्दै बजारवासीले प्रदर्शन गर्न थाले । अर्को दिन १६ गते भिड जिल्ला प्रहरी कार्यालय अगाडि जम्मा भएर घटनामा संलग्न सही र ती युवतीलाई कारबाहीको लागी सार्वजनिक गर्न माग गर्न थाल्यो । सइ जिल्ला छोडेर भागिसकेका थिए । भीड यति उत्तेजित बन्दै गइरहेको थियो कि उनीहरुले जिल्ला प्रहरी कार्यालयबाट आरोपित युवतीलाई सार्वजनिक मञ्चमा ल्याई अभद्र व्यवहार गर्न थाले । उनीले लगाएको सम्पूर्ण कपडा भिडले च्याथिदियो । प्रहरीले भिडबाट जसोतसो युवतीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा फिर्ता त लग्यो तर भिड शान्त भएन । भिडको आक्रोश जिल्ला प्रहरी कार्यालयतर्फ बढ्यो र ढुंगामुडा गर्न थाल्यो ।

निमबहादुर केसी

घोराही बाहुनडाँडाँका २० वर्षीय निमबहादुर केसी बाहुनडाँडा स्कुलमा शिक्षक थिए । उनी त्यस दिन निमा हलमा फिल्म हेर्न आएका थिए । फिल्म हलबाट बाहीर निस्कँदा उनले घोराहीको सार्वजनिक मञ्चमा प्रहरी विरुद्ध प्रदर्शन भइरहेको सुनेँ र त्यतै लागे । करिब त्यही उमेरका घोराहीका सुदर्शन श्रेष्ठ बालविकास प्राविका शिक्षक थिए । त्यस दिन उनी शिक्षक तालिममा सहभागी हुन रामपुर पुगेका थिए । रामपुरबाट घोराही ट्राफिक चोक आइपुग्दा उनले पनि सार्वजनिक मञ्चको प्रदर्शनबारे सुने र त्यतै लागे । दिनभरको प्रदर्शनले उग्रता पाउँदै गयो र करिब ६ बजेतिर उत्तेजित भिड जिल्ला प्रहरी कार्यालयको गेटसम्म पुग्यो । त्यतिबेला पद्मोदय स्कुलमा १० कक्षामा पढ्दै गरेका जीवन गौतम विद्यार्थी आन्दोलनमा सक्रिय थिए ।

भर्खर भर्खर बहुदल अएको त्यो समयमा जीवनजस्ता विद्यार्थीहरुमा नेतृत्वको हुटहुटी थियो । युवा जोशलाई उनीहरुले चोरीको घटनामा संलग्न सइलाई कारबाहीको माग गर्दै प्रदर्शन स्थलमा व्यक्त गरिरहेका थिए । घटनाको झण्डै ३४ वर्षपछि घटनालाई उनी सम्झन्छन् ‘भिडमा न त कुनै आयोजक थिए न भिड पूर्णरुपमा कसैकोे नियन्त्रणमा थियो, न त त्यो पूर्वनिर्धारित वा नियोजित प्रदर्शन नै थियो । बजारमा पुलिस नै चोरसँग मिलेर चोरीका घटना बढिरहेको विरुद्धमा स्वतःस्फुर्त प्रदर्शन थियो । आन्दोलन व्यक्तिविरुद्ध नभएर प्रहरी संगठनको गलत क्रियाकलाप विरुद्ध थियो ।

भरखर बहुदल आएकोले यस्ता घटनाले बहुदलीय व्यवस्थालाई बदनाम गराउँछ भन्ने राजनीतिक र्कायकर्तालाई लागेर प्रहरीलाई सचेत पार्ने खोजिएको थियो तर प्रहरीले एकजना युवती भिडलाई सुम्पेर आफू बच्न खोज्यो । प्रहरीले आफ्नो नियन्त्रणमा रहेको व्यक्तिलाई भिडमा बुझाउनु नै त्यो घटनाको दुखद् बिन्दु थियो । हामीले त त्यतिबेला नै प्रहरीले आफ्नो नियन्त्रणमा रहेको व्यक्तिलाई भिडमा सुम्पिनुको समेत विरोध गरेका थियौँ । भिडले नग्न बनाएको युवतीलाई कम्बल ओढाएर उत्तेजित भिडबाट बचाएर पुनः प्रहरीमा फर्काउनु मेरो किशोरावस्थाको पनि सुझबुझपूर्ण निर्णय हो भनेर मलाई सन्तोष लाग्छ ।

युवतीलाई फिर्ता प्रहरीलाई बुझाइसकेपछि प्रहरीले स्थिति शान्त पार्नु पथ्र्यो । गोली चलाउन आवश्यक थिएन । स्थिति गिजोल्ने काम तत्कालीन प्रहरी नेतृत्वले नै गरेको हो । केही बहुदल विरोधी तत्वहरुले पनि धमिलो पानीमा माछा मार्ने काम गरे । अनाहकमा हामीले एउटा समकालीन युवा गुमायौ ।’ जब भिड उत्तेजित भएर जिल्ला प्रहरी कार्यालयको गेटसम्म पुग्यो । प्रहरीले हवाई फाएर ग¥यो । नजिकैका व्यक्तिहरुलाई केही भएन । पछाडि बसेका निमबहादुर केसी र सुदर्शन श्रेष्ठलाई गोली लाग्यो । त्यतिबेलाको प्रदर्शनका सहभागी रमेशकुमार पाण्डे (शिक्षक) सम्झन्छन् ‘नाताले फुपूको छोरा पर्ने निमबहादुर र मसँगै थियौँ भिडको सबैभन्दा पछाडि एक्कासी गोली आएर निमबहादुरको कोखामा लाग्यो ऐया ! भन्दै निमबहादुर ढले ।

हामीले न ढुङ्गामुडा गरिरहेका थियौँ, न त अगाडि सरेका थियौँ । पछाडि बसेर बजारबासीको समर्थनमा ऐक्यबद्धता जनाइरहेका थियौँ । अगाडिकालाई नलागेर पछाडि उभिएका हामीसम्म गोली आइपुग्यो । चारजनाले बोकेर निमबहादुरलाई अस्पताल लगे । म घर बुवालाई खबर गर्न गएँ ।’

सुदर्शन श्रेष्ठ पनि उत्तेजित भई नारा लगाउने वा ढुङ्गामुडा गर्ने व्यक्ति थिएनन् । पछाडि बसेर सबै दृश्य हेरिरहेका थिए, एक्कासी बायाँ पाखुरामा गोली लाग्यो । ‘गोली लागेपछि म अचेत भएँ, कसले अस्पताल पु¥यायो थाहा पाउँदैन, एकैपटक अस्पतालमा मेरो होस खुल्यो’ उनी सम्झन्छन् । सुदर्शनको होस् खुले पनि निमबहादुर फेरि ब्युँतिएनन् । उनलाई थप उपचारको लागि नेपालगञ्ज लैजाँदै गर्दा गोग्लीनेर उनको प्राण गयो । एउटा सामान्य शिक्षक उत्तेजित भिड र भ्रष्ट प्रहरीको बिचको लडाइँमा सहिद भयो ।

त्यतिबेला देशमा अन्तरिम सरकार थियो । ३० वर्षीय पञ्चायती व्यवस्थाको अन्त्य भइसकेपछि नयाँ व्यवस्था सुदृढ भइसकेको थिएन । नागरिकहरुमा एउटा छुट्टै विजयभाव थियो । राजनीतिक दल हरु व्यवस्थित बनिसकेका थिएनन् । राजनीतिक चेतना त वढ्दै थियो नै उग्रता, उत्तेजना र नेतृत्वको महङ्खवकाङ्क्षा पनि छ्यापछ्याप्ती थियो । त्यसैले त न कसैले अराजक भीडलाई व्यवस्थित गर्न सक्यो न प्रहरी प्रशासन संयम बन्न सक्यो । अनाहकमा एउटा युवा सहिद बन्यो ।

गोलीकाण्डपछि सिङ्गो घोराही बजार स्तब्ध र शोक मग्न बन्यो । जेठ १७ गते शोकमा दिनभर बजार बन्द रह्यो । हजारौंको जुलुस निमहादुरको अन्त्यष्टिमा सहभागी बन्यो । अन्तिम संस्कारको समयमा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णकिसोर घिमिरे, नेकपा मालेका शम्भु गौतम र समाजसेवी खगराज लोहनीले गोलीकाण्डको निन्दा गर्दै निमबहादुरलाई सहिद घोषणाको माग गरे । सो गोलीकाण्डको छानबिन गर्न उद्योग वाणिज्य सङ्घका अध्यक्ष भरत बुढाथोकीको अध्यक्षतामा मालेका शम्भु गौतम नेपाली कांग्रेसका दीपक रेग्मी, शिक्षक अमरबहादुर डाँगी र हरि सुवेदी तथा समाजसेवी खगराज लोहनी र सुभानगिरी सम्मिलित एउटा छानबिन आयोग गठन भयो ।

तत्कालीन राजनीतिक दल नेपाली कांग्रेस नेकपा चौम नेकपा माले नेकपा मशाल तथा नेकपा मसाल दाङले विज्ञप्ति जारी गरी घटनामा संलग्न पुलिसहरुलाई कारबाहीको माग गर्दै निमबहादुरलाई सहिद घोषणा गर्न माग गरे । जेठ २२ गते घोराहीमा गोलीकाण्डको विरोधमा संयुक्त विरोध प्रदर्शन भयो । नेपाली कांग्रेस दाङका अध्यक्ष बलदेव मजगैयाँको अध्यक्षता र मालेका नगर इञ्चार्ज शम्भु गौतमको उद्घोषणमा भएको कार्यक्रममा नेकपा मालेका छविलाल ओली, वहुदलवादी नेता भरत न्यौपाने, जनस्तरबाट गठित गोलीकाण्ड छानबिन समितिका अध्यक्ष भरत बुढाथोकी नेपाली कांग्रेसका नेता महेशराज आचार्य नेपाल कम्युनिष्ट पार्टी चौमका नेता बासुदेव गौतम नेपाली कांग्रेस दाङका सचिव कृष्ण किशोर घिमिरे नेकपा मालेका नेता शिवराज गौतम तथा कार्यक्रमका सभापति बलदेव मजगैयाँले गोलीकाण्डलाई नियोजित षड्यन्त्र भएको संज्ञा दिए ।

मजगैयाले त उत्तेजना फैलाउनमा ‘रक्सी पिएकाहरु’ बढी जिम्मेवार रहेको भन्दै दाङबाट ‘भट्टीको राजनीति’ समाप्त पार्ने चेतावनी समेत दिए । असार ६ गते अन्तरिम सरकारका आपूर्ति तथा निर्माण मन्त्री मार्सल जुलुम शाक्य दाङ आए र दिवङ्त निमबहादुरको घरमा पुगे । परिवारका सदस्यलाई सान्त्वना र निमबहादुरलाई सहिद घोषणाको आश्वासन पनि दिए । करिब १५ दिनको अनुसन्धानपछि नागरिक स्तरबाट गठित छानबिन आयोगको प्रतिवेदन सार्वजनिक भयो । प्रतिवेदनमा भनिएको थियो ‘जनधनको सुरक्षाको गहन दायित्व बोकेको प्रहरीहरु स्वयम् चोरीकार्यमा संलग्न भएको र धमाधम प्रहरीहरु नै चोरीमा संलग्न भएको पोल खुलिरहेको अवस्थामा स्वयं प्रहरीहरु आतङ्कित भई उत्तेजित भीडको ध्यान अन्यत्र कतै मोड्ने नियतले आफ्नो कर्तव्य बिर्सी तागतको प्रदर्शन गरी जनतालाई क्षति पु¥याउने कार्य गरेको स्पष्ट देखिन्छ’ ।

त्यसैगरी प्रतिवेदनको अन्त्यमा ‘शक्तिसम्पन्न उच्चस्तरीय जाँच आयोग गठन गरी गोली हान्ने र निर्देशन दिने समेत लाई सजाय गरोस् भन्ने श्री ५ को सरकार समक्ष यो नागरिक छानबिन आयोग अनुरोध गर्दछ ।’ त्यसैगरी आयोगले मृतक निमबहादुर केसीको परिवारलाई क्षतिपूर्ति र घाइते सुदर्शन श्रेष्ठको औषधि उपचारको निमित्त सम्पूर्ण खर्च बहन गर्न पनि भनेको थियो । छानबिन आयोगले सुझाए जस्तै सरकारले घाइते सुदर्शन श्रेष्ठलाई औषधोपचारका लागि २००० रुपैया र मृतक केसीको परिवारलाई ४० हजार उपलब्ध गरायो तर न दोषहीरुलाई कारबाही भयो, न राज्यबाट निमबहादुरलाई थप केही सम्मान मिल्यो ।

पिता रविलाल र माता नर्वदा केसीको काइलो छोराको रुपमा निमबहादुरको २०२६ साल असारमा घोराही बाहुनडाँडामा जन्म भएको थियो । गाउँकै स्कुलमा एउटा कुसल शिक्षकको रुपमा सेवा गर्दै आइरहेका थिए । प्रजातन्त्रप्रति आस्था राख्ने युवा भए पनि उनी राजनीतिक रुपमा त्यति सक्रिय थिएनन् । २० वर्षको कलिलै उमेरमा उनले अनाहकमा ज्यान गुमाउनु प¥यो । २०४६ पछिका ३६ वर्षमा झन्डै ३६ वटा सरकार बनिसके । तीनवटा त संविधान नै बने ।

जनयुद्ध र जनआन्दोलनमार्फत गणतन्त्र, सङ्घीयता जस्ता परिवर्तन आए । यो समय अवधिमा अज्ञात तथा आपराधिक समूहबाट हत्या भएकाहरु समेत सहिद घोषणा भए तर राज्यको गोलीबाट प्राण उडेका निमबहादुरको पालो आएन । सायद निमबहादुरको श्रद्धाञ्जलीसभामा निमबहादुरलाई सहिद घोषणा गर्न माग गर्नेहरु र घटनाको छानबिन समितिमा रहेर घटना छानबिन गर्नेहरुले नै निमबहादुरलाई बिर्सिएका हुन कि ? निमबहादुर ‘सहिद’ हुन नसकेका सहिद भएर रहे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्