तीन सातामा माग पूरा नगरे सत्याग्रह सुरु गर्ने डाक्टर केसीको चेतावनी – Kanika Khabar
Friday, March 29Nepali News Portal

तीन सातामा माग पूरा नगरे सत्याग्रह सुरु गर्ने डाक्टर केसीको चेतावनी

    मा प्रकाशित

कनिका खबर
साउन ११, जुम्ला
चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले तीन वटा माग राख्दै तीन सातामा पूरा नगरे सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबीबीएसको पढाइ सुरु गर्न, आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न र चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउन माग गर्दै केसीले सत्याग्रहको चेतावनी दिनुभएको हो । बाजुरा, हुम्ला, कालिकोट हुदै आज जुम्ला आइपुग्नुभएका डाक्टर केसीले उद्योग बाणिज्य संघको हलमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिनुभएको हो ।

जुम्लामा रहनुभएका केसीले जारी गरेको विज्ञप्तिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको आरोप लगाउँदै तत्काल अनुमति प्रदान गर्न माग गरिएको छ । त्यस्तै कैलालीको गेटा मेडिकल कलेज र दाङाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठनपाठन गराउन पनि माग गर्नुभएको छ । प्रदेश दुइ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर, इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि केसीले माग गर्नुभएको छ । त्यस्तै केसीले चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० सिट कायम गर्न पनि माग गर्नुभएको छ ।

चिकित्सा शिक्षा अध्ययन संस्थानमा सरकारले वरिष्ठता मिचेर डा. दिव्यासिंह शाहलाई डीन बनाएकोमा पनि केसीले विरोध जनाउनुभएको छ । उहाँले विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि परासर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुसार निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्तिको कानूनी व्यवस्था गर्न माग गर्नुभयो । डा. केसीले कोरोनाको विश्वब्यापी महामारीका बेला जनतालाई राहत पु¥याउनुको सट्टा भ्रष्टाचार गरेर आफ्नै मन्त्री र कार्यकर्तालाई धनी बनाउन सरकार लागेको आरोप पनि लगाउनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्