
काठमाडौँ, ९ वैशाख ।
नेपाल शिक्षक महासंघक अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनरत शिक्षकहरुलाई अनुशासित र संयमित रहन आग्रह गरेका छन् । आन्दोलनलाई परिणाममुखी बनाउन आन्दोलनमा सहभागी शिक्षकहरुलाई अनुशासित र संयमित रहन अध्यक्ष सुवेदीले आग्रह गरेका हुन् ।
सामाजिक सञ्जालमा आन्दोलन सम्बन्धी सूचना लेख्दै अध्यक्ष सुवेदीले आन्दोलनलाई निर्णायक बनाउन अझै जोडबलसहित आन्दोलनमा जुटन् पनि आग्रह गरेका छन् ।
‘हाम्रो आन्दोलन यथावत् जारी छ । सदा झैं आज पनि ठिक ९ः०० बजे माइतीघर मण्डला आइपुग्नु होला ।
१. आन्दोलनलाई निर्णायक बनाउन अझ जोड बल सहित आन्दोलनमा जुटौं ।
२. आन्दोलनका लागि तोकिएको स्थान र तोकिएको विधि बाहेक अन्य कार्यमा संलग्न नहुनु होला ।
३. आन्दोलन आफैंमा जटिल जिम्मेवारी हो । मनोगत र लहडी निर्णय तथा कुराप्रति सचेत रहनुहोला ।
४. बजारमा चलेका अफवाह र गलत समाचारहरुमा विश्वास नराख्नुहोला ।
५. आन्दोलनलाई परिणाम मुखी बनाउन धैर्यता, संयम र अनुशासन कायम राख्नुहोला ।
अहिलेसम्म देखाउनु भएको साहस, धैर्य र सक्रिय सहभागिताको लागि नमन ।
‘मेरो आन्दोलन मेरो सहभागिता’
‘बलियो सहभागिता, बलियो आन्दोलन– बलियो आन्दोलन, बलियो उपलब्धि ’ सूचनामा उल्लेख छ ।


