
काठमाडौँ, ११ वैशाख ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको भन्दा आगामी निर्वाचनका बारेमा चिन्ता लिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आज बिहीबार काठमाडौंको भृकुटीमण्डपमा लोकतन्त्र दिवसको अवसरमा आयोजित युथ सेलिब्रेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको आयुबारे भएको हल्लाको पछि नलाग्न आग्रह गर्दै आगामी चुनावको चिन्ता गर्ने निर्देशन दिएका हुन् ।
‘यतिबेला नेकपा एमाले र काङ्ग्रेसको सरकार एउटा सङ्कल्पसाथ बनेको सरकार हो । यो स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो । यो केही लिएर अघि बढेको छ । सरकारको बारेमा होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ । एमालेले सरकार बनाउँ, सरकार बचाउँ भनेर कराएको छैन । एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ, हामीले ७० को चुनाव भन्यौं, ०७४ को चुनाव भन्यौं, ७९ को चुनाव भन्यौं अब ०८४ को चुनाव भनिरहेका छौं । त्यसैले ढुक्कले मिसन ०८४ मा लाग्नुस् ।’ उनले भनेका छन् ।


