यसरी बनाऔँ कक्षाकोठामा हुने सिकाइ प्रक्रियालाई प्रभावकारी – Kanika Khabar
Monday, July 14Nepali News Portal

यसरी बनाऔँ कक्षाकोठामा हुने सिकाइ प्रक्रियालाई प्रभावकारी

    मा प्रकाशित

डीके ढुङ्गाना

समय परिवर्तनशील छ । परिवर्तनशील समयसँगै हामी पनि परिवर्तन भइरहेका छौँ । परिवर्तनसँग सबैभन्दा बढी अपडेट शिक्षक हुनुपर्छ । शिक्षकले शिक्षण गरिरहेका बालबालिकाले परिवर्तनशील समयको लय समात्न सक्नुपर्छ । परिवर्तनको लिगमा हाम्रा बालबालिका चिप्लनु हुँदैन भन्नेमा शिक्षक सचेत रहन जरुरी छ । हामीले वर्तमान समयमा शिक्षण गदैृगर्दा भविष्यका लागि जनशक्ति उत्पादन गरिरहेका छौँ । उत्पादन गर्दै गरेको जनशक्तिका समय र उत्पादित जनशक्तिले सिप कार्यान्वयन गर्ने समय फरक भएका कारण पनि शिक्षकमा दूरदर्शिता आवश्यक पर्दछ । यसका लागि बदलिदो समयलाई शिक्षकले बुझेर कक्षाकोठालाई प्रभावकारी बनाउन आवश्यक छ ।

बदलिदो समयमा कक्षाकोठालाई प्रभावकारी ढगले सञ्चालन गर्न शिक्षकहरूमा रूपान्तरण जरुरी छ। साना साना प्रयासहरूबाट पनि कक्षाकोठालाई सुधार्न सकिन्छ जसका लागि यी केही सुझावहरु सहयोगी हुनेछन् भन्ने विश्वासका साथ प्रस्तुत गरिएको छ।

१. पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन:
प्रत्येक शिक्षकले राष्ट्रिय पाठ्यक्रमको मर्मअनुसार दैनिक रूपमा योजनाबद्ध ढंगले शिक्षण सिकाई क्रियाकलाप गर्नुपर्दछ। यसको लागि दैनिक पाठ योजना (Daily Lesson Plan) अनिवार्य रूपमा तयार पारिनुपर्छ। दैनिक पाठ योजनाको सही प्रयोगबाट शिक्षण सिकाईलाई प्रभावकारी बनाई सहज ढंगले पाठ्यक्रम निर्देशित लक्ष्य हासिल गर्न सकिन्छ।

२. शिक्षणमा विविधता र आकर्षण:
विद्यार्थीलाई बुझाउन सहज हुने तरिकाहरू – वास्तविक उदाहरण, श्रव्य-दृश्य सामग्री, प्रयोगात्मक कार्य, प्रश्नोत्तर आदिको प्रयोग गरी शिक्षण कार्यलाई जीवित, रोचक र अर्थपूर्ण बनाउन सकिन्छ।

३. समसामयिक विषयवस्तुमा अपडेट रहनु:
विश्व घटनाक्रम, नवीनतम प्रविधि, सामाजिक विषय आदिमा शिक्षकले आफूलाई सधैं अद्यावधिक राखी ती विषयलाई अध्यापनसँग सम्बन्धित गराई कक्षा सञ्चालन सञ्चालन गर्दा विद्यार्थीहरूलाई प्रभावकारी ढंगले विषयसँग जोड्न सकिन्छ।

४. प्रविधिको सदुपयोग:
डिजिटल शिक्षण उपकरण (जस्तै: PowerPoint, Smartboard, Online resources, LMS) को उपयोग गरी शिक्षणको गुणस्तरमा सुधार र समयानुकूल बनाउन सकिन्छ।

५. आलोचनात्मक र फरक सोच सिकाउन प्रेरणा:
शिक्षकले विद्यार्थीहरूलाई रट्न होइन — बुझ्न, विश्लेषण गर्न, आफ्ना विचार राख्न, प्रश्न गर्न प्रेरित गर्ने प्रवृत्तिको विकास गर्नु अत्यावश्यक छ जसबाट विद्यार्थीलाई थप सिक्न र सृजनशील बनाउन सकिन्छ।

६. सृजनात्मक क्षमता विकासमा जोड:
कला, सिर्जना, अभिव्यक्ति, लेखन, चित्र, परियोजना कार्य आदिको माध्यमबाट विद्यार्थीहरूमा सृजनशीलता उजागर गराउने प्रयास गर्नुपर्छ। यसबाट विद्यार्थीहरूमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ।

७. विद्यार्थीको क्षमता पहिचान र प्रवर्धन:
प्रत्येक विद्यार्थीमा अपार प्रतिभाको सम्भावना छ, त्यसलाई बुझ्न, प्रोत्साहन गर्न र उजागर गर्न शिक्षकको भूमिका निर्णायक हुन्छ। शिक्षकको सकारात्मक भूमिकाद्वारा विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न सकिन्छ।

८. विद्यालय प्रशासनसँग सकारात्मक सम्बन्ध:
शिक्षक र विद्यालय प्रशासनबीच विश्वास, संवाद र सहकार्य हुनुपर्छ जसले सम्पूर्ण शैक्षिक वातावरणलाई समृद्ध बनाउँछ। र सजिलै सकारात्मक परिणामहरू हासिल गर्न सकिन्छ।

९. सूचना प्रवाह र समन्वयमा सक्रियता:
शिक्षकले विद्यालयमा हुने गतिविधि, सूचनाहरू समयमै बुझ्ने, दिने र विद्यार्थी–अभिभावकसमक्ष प्रभावकारी ढंगले प्रस्तुत गर्ने जिम्मेवारी लिनुपर्छ। जसका कारण विद्यार्थी र अभिभावकका बीचमा हुने दुरीलाई कम गर्दै सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ।

१०. अनुशासन र व्यवहारमा संवेदनशीलता:
विद्यार्थीलाई अनुशासित, सभ्य, उत्तरदायी बनाउने प्रयास कक्षा कोठामै सुरु हुन्छ। शिक्षकले आफ्नै व्यवहारबाट उदाहरण प्रस्तुत गर्नुपर्छ। विद्यार्थीको सार्वाङ्गीण विकासको एउटा महत्त्वपूर्ण हिस्सा शिक्षक नै हो। शिक्षकले योजनाबद्ध ढंगले अभिभावकलाई पनि घरको शिक्षककै रुपमा विकास गरी व्यवहार र आचरण निर्माणमा जोडेर विद्यार्थीको समग्र सुसंस्कृत हुने प्रक्रियामा सहभागी बनाउँदै अनुशासित बनाउन सकिन्छ।

लेखक प्याब्सन केन्द्रीय कार्यसमितिका प्रमुख सल्लाहकार तथा रेडियन्ट रिडर्स एकेडेमी, सानेपा, ललितपुरको व्यवस्थापक प्रिन्सिपल हुन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्