दाङ, १४ वैशाख ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ बडहरा निवासी १०१ वर्षीया बिर्जी चौधरीले जीवनकालमा थुप्रै दुःख गर्नुभयो। घाँस दाउरा मेलापात अर्मपर्म छोराछोरीको पालनपोषण यस्तैयस्तै कार्यले जीवनमा उहाँलाई कहिल्यै फुर्सद भएन। जतिबेला पनि काम नै काममा व्यस्त हुँदाहुँदै अहिले जीवनको उत्तराद्र्धमा उहाँ आइपुग्नुभयो। जीवनकालमा उहाँले भोग्नुभएका दुःख कष्टहरूको विवरण बनाउँदा लामै कहानी बन्छ।
उमेरमा घरायसी काममा मात्र सीमित चौधरीलाई जब बुढेसकाल लाग्यो त्यसपछि उहाँ हिँडडुल गर्न सक्नुभएन। छोराछोरीकै खुसीका खुसी र भविष्यका लागि समर्पित उहाँको जीवनमा उनीहरूको खुसी नै आफ्नो खुसी बन्न पुग्यो।
घर बाहिर अलि टाढा राम्रोसँग घुमफिर गर्न नपाउनु भएकी चौधरी कुनै औपचारिक कार्यक्रममा कहिल्यै सरिक हुनुभएन। तर आइतबार उहाँ यस्तो कार्यक्रममा सहभागी हुनुभयो जहाँ उहाँलाई सम्मानको आयोजना गरिएको थियो।
जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १३ बडहरास्थित गोदावरी इङ्लिस मिडियम स्कुल (जेम्स)ले एक कार्यक्रमको आयोजना गरी उहाँ लगायत उहाँजस्तै ६ जना आमालाई सम्मान गरेको छ । उहाँ मात्रै होइन यो उमेरमा आइपुग्दा विद्यालयले सम्मान गरेकोमा सबै आमाहरूको आँखाबाट बरबर्ति आँसु झर्यो र सबै छोराहरुलाई आशीर्वाद प्रदान गर्नुभयो।
बालबालिकालाई संस्कारसहितको शिक्षा सिकाउने उद्देश्यले मातातीर्थ औँसी २०८२ को अवसरमा एक कार्यक्रम आयोजना गरी विद्यालयले ती सबै आमाहरूलाई सम्मान गरेको हो। सो अवसरमा घोराही – १३ बडरा निवासी ८२ वर्षीय लीला शर्मा, घोराही –१३ मङ्गलेरी निवासी ७६ वर्षीया उत्तिमा केसी, घोराही –१२ रमना निवासी ६९ वर्षीया सुमित्रा योगी, घोराही –१३ बडहरा निवासी ६२ वर्षीय डुमा भण्डारी र घोराही – १३ मङ्गलेरी निवासी ६० वर्षीया घनादेवी पोखरेल सम्मानित हुनुभयो। सम्मानित व्यक्तित्वलाई नगदसहित फलफूल हर्लिक्स प्रदान गरिएको थियो।
विद्यालयका प्रिन्सिपल शेषमणि शर्माको अध्यक्षता, १३ नम्बर वडाका वडा अध्यक्ष डुल्लुराम पोखरेलको प्रमुख अतिथ्यमा एवम् प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने र गोदावरी इङ्लिस मिडियम स्कुलका प्रबन्ध निर्देशक विष्णु प्रभात दाहालको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका शैक्षिक विभाग प्रमुख श्रीधर भण्डारी, कोर्डिनेटर हेमराज देवकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
यसैगरी गोदावरी इङ्लिस मिडियम स्कुलको शाखा घोराही १६ लेटारमा रहेको सनसाइन पब्लिक बोर्डिङ स्कुलमा पनि मातातीर्थ औँसी एक कार्यक्रम गरी मनाइएको छ। गोदावरीका प्रिन्सिपल शेषमणि शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि १६ नम्बर वडाका वडा अध्यक्ष तारा बहादुर डिसी, डाँफे टोल विकास संस्थाका सचिव श्रीधर परियार, सामाजिक अगुवा हर्कबहादुर खत्री, लेटर टोलकी अध्यक्ष अनु श्रेष्ठ, दीपक श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। सो अवसरमा वडा नम्बर १६ निवासी फुल्या चौधरी, पिर्मा बुढा, मनमा रामजाली पुन लगायत अन्य सातजना वृद्धा आमाहरूलाई सम्मान गरिएको थियो।