पहिरोले करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध – Kanika Khabar
Saturday, April 20Nepali News Portal

पहिरोले करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध

    मा प्रकाशित

कनिका खबर
साउन १४, बागलुङ
निरन्तरको वर्षासँगै आएको पहिरोका कारण जिल्लाका सबै स्थानीय तहमा सडक सम्पर्क बिच्छेद भएको छ । राष्ट्रिय गौरवका आयोजना कालिण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्र्तगत दर्जन बढी स्थानमा पहिरो खसेर सडक अबरुद्ध भएको हो । सदरमुकाम बागलुङ बजारदेखि पश्चिमका ७ वटा स्थानीय तहलाई सडक सञ्जालमा जोडेको मध्यपहाडी लोकमार्गअन्र्तगत बागलुङ नगरपालिका वडा नं. ३ बोक्सेमा पहिरो खसेको छ । एक साता पहिलेदेखि नै ठुला सवारीसाधन अवरुद्ध रहेकोमा सोमबार राती पहिरो खसेपछि सडक पूर्णरुपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ । त्यस्तै लोकमार्गकै काठेखोला गाउँपालिका, गलकोट नगरपालिका र बडिगाड गाउँपालिका खण्डमा पहिरो खसेको ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो । पहिरोका कारण सडक अवरुद्ध हुँदा दूध ढुवानी, एम्बुलेन्स, खाद्यान्न लगायतका अत्यावश्यक सेवाका सवारी बढी मर्कामा परेका छन् । यस्तै, कालीगण्डकी करिडोरको मालढुङ्गा–पालुङ्खोला खण्डको कयौं ठाउँमा पहिरो खसेको छ । वैकल्पिक मार्गसमेत नभएकाले करिडोर बन्द हुँदा जिल्लाको दक्षिण क्षेत्रका दुई स्थानीय तहमा सडक सम्पर्क टुटेको पाठकले बताउनुभयो । ‘पानी परिरहेकाले पहिरो पन्छाउने काम पनि थालनी भएको छैन’ पाठकले भन्नुभयो, ‘बागलुङ पोखरा सडकबाहेक जिल्लाका सबै सडक बन्द भएका छन् ।’ अत्यावश्यक कामका यात्रु बोकेर हिँडेका सवारी सडक अवरुद्ध भएका कारण ठाउँ ठाउँमा रोकिएका छन् । बागलुङ नगरपालिका वडा नं. १० गलुवा र वडा नं. १३ को पाउजामा ठुलो पहिरो खसेका कारण तत्काल पन्छाउन कठिन रहेको उहाँले बताउनुभयो । जिल्लाका दशवटै स्थानीय तहका मुकाम जोड्ने स्थानीय सडकमा समेत ठाउँ ठाउँमा पहिरो झरेको छ । स्थानीय सडकहरूमा पहिरो गएका कारण जिल्लाको तमान र निसीखोलामा पहिरोमा पुरिएर घाईते भएकाको उपचार र उद्धारमा समेत कठिनाई भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्