आदिम के. सी.
मानिस जन्मन्छ, मर्छ । यो प्रकृतिको नियम हो । यही प्रकृतिको नियम परिधिमा मानिसले जीवन चलाइरहेको छ । सामान्यतः जन्मेपछि सास चल्दासम्मको समयलाई जीवन भन्ने गरिन्छ । जीवनको महत्व र अस्तित्व खोज्नेहरू जीवनलाई सङ्घर्षको चुलीमा चढाउँछन्, त्यागको नदीमा बगाउँछन् अनि समर्पणको सरोवरमा पौडाउँछन् । कहिले सहज, कहिले असहज जीवनको नियत हो । सुख र दुःख मानव जीवनका चरण हुन् । सफलता र असफलता मनुष्य जीवनका आयाम हुन् । नदी बगिरहन्छ, हावा चलिरहन्छ, जीवन उदाउँछ अनि अस्ताउँछ र यो प्रक्रिया निरन्तर चलिरहन्छ । समयसँगै मान्छे जन्मन्छ, हुर्कन्छ बढ्छ अनि एक समय भौतिक शरीरको बह्मलीन भएर जान्छ । जसलाई मानवीय भाषामा मृत्यु भनिन्छ । जन्मनु र मर्नु मात्र जीवन होइन । जन्म र मृत्युबिचको समयमा जीवनलाई प्रेरणादायी, अनुकरणीय, अन्वेषणीय बनाउनु जीवन हो । यसैमा जीवनले अर्थ राख्दछ, जीवनको महत्व आलोकित हुन्छ । मरेर पनि बाँचिरहने पो जीवन हो । यस सृष्टिमा जन्मिएका जति सबै मानिस मरेका छन्, मर्नेछन् तर मरेर पनि सबै बाँचेका छैनन् र बाँच्ने पनि छैनन् । यही जन्म र मृत्युबिचको समयको सदुपयोग, प्राप्त उपलब्धी, त्याग र समर्पणमा जीवनको अर्थ हुन्छ । निशा प्रहरमा आकाश चिनाउन सूक्ष्म नक्षत्रहरू टिलपिलाइरहेका हुन्छन् । ती नक्षत्र साना छन् तर विशाल गगन पहिचान गराउने ल्याकत राख्दछन् । जीवन एक त्यही आकाश हो, जीवनका कर्म ती नक्षत्र बन्नुपर्छ । कर्म सूक्ष्म होऊन् या स्थूल होऊन् त्यसमा सफल जीवनको अर्थ रहँदैन तर कर्म कर्मयोग हुनुपर्छ, भावी पुस्ताका लागि मार्ग प्रशस्त हुनुपर्छ अनि आफू बाँचेको समयलाई भविष्यमा चिनाउन सक्ने जरुर हुनुपर्दछ ।
जीवनका गरिने कार्यले तत्कालीन समयमा महत्व राख्लान् या नराख्लान् तर भविष्यमा ऐतिहासिक दस्तावेज भने अवश्य हुन्छन् । वर्तमानमा सामान्य लाग्ने कार्य भविष्यमा इतिहासको दर्पण बन्दछ । आज गरिएका कामले नै भविष्यमा आजलाई पहिचान गराउँछन् । अहिले सामान्य लाग्ने कार्य भविष्यमा असामान्य हुन सक्नु जीवनको सार्थकता हो । जीवनलाई यसरी नै सार्थक बनाउने दाङका एक व्यक्ति हुन् — पं. शालिग्राम गौतम । गौतम १९६३ सालमा दाङको हापुरमा चन्द्रनिधि गौतम र चुमादेवी गौतमको पाँचौ सन्तानका रुपमा जन्मिएका थिए । यद्यपि कतै उनको जन्म १९६५ साल पनि उल्लेख गरिएको पाइन्छ तर उनका भाइ टेकनाथ गौतमले पं. शालिग्राम गौतमको स्मृति ग्रन्थमा यसलाई स्पष्ट पारेका छन् । भाइ गौतमका अनुसार पं. शालिग्राम गौतमको नागरिकतामा जन्म मिति १९६५ उल्लेख भएको भए पनि खास जन्म १९६३ मा भएको हो ।
दाङको हापुरस्थित गौतम परिवारमा जन्मिएका गौतम बहुआयामिक व्यक्तित्व हुन् । देशले बिर्सिएको तथा नखोजेको प्रतिभा हुन् —गौतम । साहित्य, व्याकरण र आयुर्वेदका त्रिवेणी मानिने गौतम गुमनाम मणि हुन् । दाङलाई चिन्न मात्र होइन नेपाली साहित्य, व्याकरण र आयुर्वेदका बारेमा अध्ययन अनुसन्धान गर्नका लागि गौतमको व्यक्तित्व खुला पुस्तक हो । तर, गौतमबाट आर्जन गर्नुपर्ने ज्ञान, गौतमले दिएका योगदान, गौतमले गरेका त्यागका धेरै अंशको संरक्षण अभावका कारण गौतमको अध्ययन अनुसन्धानमा केही जटिलता अवश्य छन् । जटिलताका कारण अध्ययन नै गर्न छाड्ने हो भने झनै गुमनाम हुने प्रवल सम्भावना देखिन्छ । इतिहासको संरक्षणका लागि मात्र नभएर आयुर्वेद, व्याकरण र साहित्यको थप खोज, अनुसन्धान, अध्ययनका साथै विकासका लागि पनि गौतम अनिवार्य पढ्नै पर्ने नाम हो । अद्भुत क्षमता भएका गौतम दाङका पहिचान हुन् । दाङको शैक्षिक विकासमा गौतमको योगदान पनि त्यतिकै स्मरणीय छ ।
अहिले पनि दाङ हापुरका गौतम बिर्तावाल अर्थात् लक्ष्मीले पत्याएका परिवारका रूपमा चिनिन्छन् । सरल स्वभावका पं. गौतम त झनै सरस्वती र लक्ष्मी दुवैले पत्याएका व्यक्तिका रुपमा चिनिन्थे । न त ज्ञानको घमण्ड न त सम्पत्तिको घमण्ड थियो गौतममा । सर्वसम्पन्न भएर पनि घमण्डशून्य, सर्वमान्य भएर पनि सरल, सर्वज्ञान भएर पनि साधारण स्वभावका गौतम आँखामा राख्दा पनि नबिझाउने व्यक्ति थिए । उनी न त कहिल्यै कसैको आँखामा बिझाए न त कहिल्यै कसैको मनमा चोट बने । परोपकारी र प्रकाण्ड विद्वानका रुपमा चिनिएका गौतम विद्वान भएर पनि विनीत थिए ।
शिक्षा, साहित्य र आयुर्वेदका सङ्गम मानिने गौतम व्याकरणमा पनि त्यतिकै दखल राख्ने व्यक्ति हुन् । अध्ययन भनेपछि हुरुक्क हुने गौतम अध्ययनको भोक मेटाउन निरन्तर क्रियाशील रहे । अत्यन्त तीक्ष्ण बुद्धिका गौतममा स्मरणशक्ति पनि त्यतिकै तेज थियो । तत्कालीन समयमा दाङमा कतै पाठशाला नभएका कारण गौतमको अक्षरारम्भ कहिले र कहाँबाट भयो विषयको कुनै एकीन छैन । तर, तत्कालीन समयमा प्युठानमा रहेको उदयपुरमा राजा काजीहरूले राखेको पाठशालामा पनि अध्ययन गरेको उल्लेख छ । गौतमका भाइ टेकनाथ गौतमले ‘मेरा काहिँला दाइ पं. शालिग्राम गौतम’ लेखमा गौतमले उदयपुरमा अध्ययन गरेको उल्लेख गरेका छन् । ‘उदयपुरमा राजा काजीहरूले राखेको पाठशालाका पं. भक्तिराम अधिकारीसित अमरकोश, मध्य कौमुदी, शिशुपालवध दुई सर्ग, किरातार्जुनीय तीन सर्ग, रघुवंश पाँच सर्ग, तर्क सङ्ग्रह मूल, साङ्ख्यकारिका, राम गीता, श्रीमद्भागवतको वेद स्तुति र यजुर्वेदका अन्तिम अध्याय र श्रुतबोध सबै कण्ठित गरी पढ्नु भएको थियो । नेपाल (काठमाडौं) र वनारसमा मैले परीक्षा दिनलाई मात्र पढेको हुँ । मेरो ज्ञान जति छ त्यो भक्तिराम गुरुज्यूको दयाले प्राप्त गरेको हुँ भनेर धेरै पछिसम्म उहाँले भन्नुहुन्थ्यो ।’ (टेकनाथ गौतम, मेरा काहिँला दाइ पं. शालिग्राम गौतम) । यसबाट पनि गौतमको शिक्षा उदयपुरका राजा काजीहरूले राखेको पाठशालाबाट भएको भन्न सकिन्छ ।
शिक्षाकै भोकलाई मेटाउन गौतम १९८४÷१९८५ सालतिर वनारसमा व्याकरणमा मध्यमा गर्न गएका हुन् । व्याकरणमा मध्यमा उत्तीर्ण गरिसकेपछि पनि गौतम वनारसमै बसेर अध्ययनलाई निरन्तरता दिए । अन्ततः गौतमले साहित्य, व्याकरण र आयुर्वेदमा आचार्य गरे ।
वनारसमा बस्दा गौतमले ज्ञान आर्जका साथै साहित्यको श्रीवृद्धिका लागि पनि महत्वपूर्ण योगदान दिए । यद्यपि कुनै रचना तथा कृति प्रकाशनपूर्व त्यसको गुणात्मकतामा निकै सजग हुन्थे गौतम । ‘रामाश्वमेध काण्ड’ प्रकाशनपूर्व प्रकाशकको आग्रहका सन्दर्भमा गौतमले दिएको जवाफबाट पनि यस कुराको पुष्टि हुन्छ । सर्वहितैषी कम्पनीका मालिक राधोराम शिवप्रसादले १५ दिनभित्र ‘रामाश्वमेध’ तयार पारिदिन आग्रह गर्दा गौतमले प्रस्ताव अस्वीकार गरेका थिए । आफूलाई फुर्सद नभएको र यति छोटो समयमा राम्रो रचना गर्न नसकिने बताएका थिए । प्रकाशकको अति आग्रह भएपछि गौतमले १३÷१४ दिनमा नै ‘रामाश्वमेध’ तयार पारेको उल्लेख छ । गौतमले ‘शारदा शतक’, ‘करुणा शतक’ पनि रचना गरेका थिए । तर, ती ग्रन्थहरूको संरक्षण नभएको टेकनाथ गौतमले बताएका छन् । टेकनाथ गौतम पनि दाजुसँग वनारसमै बसेर अध्ययन गर्ने भएकाले उनलाई गौतमका धेरै विषय थाहा छ । ‘मेरा काहिँला दाइ पं. शालिग्राम गौतम’ लेखमा टेकनाथ गौतमले ‘शारदा शतक’ का केही उल्लेख गरेका छन् । त्यस्तै फुटकर रचनाका रुपमा गौतमले पीतेन्द्र शोकोद्गार (गौतमले आफ्नो आत्मीय मित्रको वियोगमा रचना गरेको विलाप), ससुराले खनाएको कुवामा लेखेको श्लोक, पं. पुष्करराज धिताललाई भेट्न जाँदा भेट नभएपछि लेखेको श्लोकलाई सम्झना भएसम्मका श्लोक टेकनाथ गौतमले माथि उल्लेखित लेखमा लेखेका छन् । त्यसो त टेकनाथका अनुसार गौतमका थुप्रै रचना वनारसको डेरामा हराएका थिए । गौतमले थुप्रै रचना गरे पनि संरक्षण नभएका कारण गौतमका कृति तथा रचना गुमनाम रहेका छन् ।
गौतमका श्री ५ हरूको वंशावली (पाण्डुलिपि, लेखक संघ दाङसँग सुरक्षित रहेको), उदयको उद्देश्य, राजाको कविता, जयन्ती महोत्सव लगायतका फुटकर कविताहरू प्रकाशित रहेका छन् ।
गौतमले रचना गरेको श्री ५ हरूको वंशावली दिव्यदेव पन्तले ‘शाहवंश चरित’ का नाममा प्रकाशन गरे । गौतमका भाइ टेकनाथ गौतमका अनुसार सम्वत १९८८ सालमा पं. दिव्यदेव पन्त वनारसमा गई गौतमसँग भेट गरी लेखनमा उत्प्रेरणा दिन्थे । गौतमले ‘श्री ५ हरूको वंशावली’ एतिहासिक काव्य लेखेर एक प्रति आफूले एक प्रति पन्तलाई दिए । पन्तले आफू प्रकाशक भएर लेखकको नामसमेत नराखी ‘शाहवंश चरित’ शीर्षकमा प्रकाशित गरे । १९९२ सालमा ‘बुइँगल’ पत्रिकामा पन्तलाई लेखक बनाई प्रकाशन गरियो । गौतमले राखेको एक प्रति सुरक्षित रहेका कारण यो प्रमाणित भएको छ । गौतमको स्मृति ग्रन्थमा शुशील गौतमको ‘श्री ५ हरूको वंशावलीको यथासम्भ नालीबेली’ शीर्षकको लेखमा यसलाई पुष्टि गरिएको छ ।
वनारसमा बस्दा गौतम अध्ययन र लेखनका साथसाथै आयआर्जनको कार्यमा पनि सक्रिय थिए । वनारसमा बस्दा हुने खर्च व्यवस्थापनका लागि वाणिज्यमा समेत उनको सक्रियता रह्यो । वनारसमा ‘उद्धव एन्ड कम्पनी बह्माघाट’ कम्पनी खोलेर सूचिपत्र तयार गरी वनारसमा पाइने सामग्री तान्जी, मन्डेल, रङ्गुन, मणिपुर, इम्फाल, विष्णुपुर, सिलाङ, गुवाहाटी, दार्जिलिङ, सिक्किम, देहरादूनमा पठाएर आयआर्जनको काम समेत गरे । स्वावलम्वी गौतम अभाव भएर वाणिज्यमा सक्रिय रहेका होइनन् खाली नबस्ने केही न केही काम गरिरहने, आफ्नो आवश्यकता आफै पूरा गर्ने स्वभाव भएका कारण पनि वाणिज्यमा सक्रिय रहेका हुन् ।
पढेका कुरालाई व्यवहारमा लागु गर्नु पर्छ भन्ने मान्यता राख्ने गौतमले साहित्य र व्याकरणका ज्ञानलाई लेखन तथा अध्यापनका माध्यमबाट व्यवहारमा उतारे । आयुर्वेदमा आचार्य गरेका गौतमले आयुर्वेद शिक्षालाई पनि जीवनमा प्रशस्त प्रयोग गरेका छन् । वनारसमा बस्दा गौतमले आफूले पढ्ने, विद्यार्थीहरूलाई पढाउने तथा आयुर्वेदको अभ्यास गराउने गर्थे । गौतमसँग आयुर्वेद सम्बन्धी औषधिको प्रशस्त ज्ञान थियो । भाइ टेकनाथ गौतमलाई समेत आयुर्वेद सम्बन्धी ज्ञान दिएको, औषधि चिनाएका थिए गौतमले । जसलाई भाइ टेकनाथले ‘मेरा काहिँला दाइ पं. शालिग्राम गौतम’ लेखमा उल्लेख गरेका छन् ।
धार्मिक व्यक्तित्वका रुपमा चिनिने गौतम धार्मिक कर्मलाई निकै महत्व दिन्थे । जुद्ध शमसेरसँग घनिष्ठ सम्बन्ध रहेका गौतम १९९१ सालमा जुद्ध शमसेरले लगाएको कोटिहोममा १० पण्डित मध्ये एक थिए । त्यसो त १९९५ सालमा वनारसको भुलनपुरामा चन्द्रशमसेरकी रानीले लगाएको कोटीहोममा दोस्रो पण्डितको रुपमा रहेका थिए ।
स्वाभिमानी, गुण ग्राहिता गौतम तार्किक व्यक्तित्वका रुपमा परिचित थिए । कुनै समयमा दाङका प्रकाण्ड विद्ववानका रुपमा चिनिने गौतमले शिक्षा क्षेत्रमा पनि अतुलनीय योगदान दिएका छन् । दाङको पद्मोदय पब्लिक हाइस्कुल स्थापना गर्दा नगद रकम चन्दा सहित गैराको खेत समेत दिएका थिए । मावि हापुर निघुवारको स्थापना स्थापनामा पनि गौतमको निकै महत्वपूर्ण भूमिका रहेको छ ।
छोटो समयमा धेरै गर्ने व्यक्ति हुन् गौतम । नागरिकता अनुसार ४० वर्षको आयु भए पनि उनका भाइ टेकनाथ गौतमका अनुसार उनी ४२ वर्ष मात्र बाँचे । चार दशकको यात्रा गरिहँदा २००५ सालमा गौतमले सधैंका लागि आँखा चिम्ले । उनले भौतिक चक्षु चिम्ले पनि कहिल्यै नचिम्लने गरी धार्मिक, सामाजिक, साहित्यिक तथा शैक्षिक क्षेत्रमा सक्रियता देखाएर ज्ञान चक्षु खुला राख्ने मार्ग फराकिलो गराएका छन् । छोटै समयमा चर्म चक्षु चिम्लिएका गौतमका ज्ञान चक्षु कहिल्यै चिम्लिइने छैनन् ।
गौतम एउटा खुला पुस्तक हुन् । नलेखिएका पुस्तक । जति पढे पनि नसकिने पुस्तक । गौतमका बारेमा लेखिएका कतिपय विषय किम्वदन्ती जस्ता लाग्छन् । तत्कालीन समयमा प्रकाशन प्रवृतिको अभाव र प्रकाशित रचनाको संरक्षण नभएका कारण गौतमका थुप्रै रचना बिराना भएका छन् । भाइ पं.टेकनाथ गौतम लामो समय दाजुसँग वनारसमा बसेका कारण पठन (कण्ठस्थ पार्ने ) संस्कृतिका कारण गौतमको स्मृति ग्रन्थमा केही रचना बचाउन सकिएको छ । जसका कारण पनि गौतमको विषयमा खोज अनुसन्धान गर्ने मार्ग केही खुकुलो भएको छ ।
गौतम दाङको मात्र होइन देशको एक आभूषण हुन् । अमूल्य आभूषणलाई देशव्यापी रुपमा चिनाउन, चासोको विषय बनाउन जरुरी छ । धेरै गरेर पनि थोरै चिनिएका, कर्म गर्ने प्रचार नगर्ने स्वभाव भएका गौतम समकक्षी तथा परिवारका सामु सीमित रहे । चिनिए कम, पढिए थोरै, गुमनाम धेरै । पढ्न जरुरी छ नयाँ पुस्ताले पनि गौतमलाई । दाङको शैक्षिक विकासक्रममा, साहित्यमा तथा आयुर्वेदमा अनि व्याकरण भुल्न नहुने छुटाउन नहुने नाम हो गौतम । राष्ट्रिय चासोका विषय रहेका गौतमका विषयमा अब बहस, विमर्श जरुरी छ ।